News

गिरोहले बंगलादेशबाट धमाधम यसरी भित्र्याउँदैछ नेपालमा रोहिंग्या

गिरोहले बंगलादेशबाट धमाधम यसरी भित्र्याउँदैछ नेपालमा रोहिंग्या

काठमाडौंः अन्सर मोहम्मद र हुसेन हमिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका थिए। नेपालमा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरूले सुने। त्यसपछि नेपाल छिर्न एजेन्टलाई ३० हजार बंगाली टाका (करिब ४० हजार रुपैयाँ) बुझाए। सात महिनाअघि काठमाडौं आइपुगेका उनीहरू बूढानीलकण्ठ नगरपालिका-११ स्थित राममन्दिर नजिकै टहरामा बसिरहेका छन्।

मोहम्मद र हमिद दुवै रोहिंग्या समुदायका हुन्। उनीहरूले यहाँ आएपछि यूएनएचसीआरमा शरणार्थीको पहिचान माग्दै निवेदन पनि दिएका छन्। तर नाम दर्ता भइसकेको छैन।

उनीहरू जसरी नै बंगलादेशबाट भारत हुँदै काठमाडौं आइपुगेर राममन्दिर नजिकैका टहरामा बसिरहेका रोहिंग्या अरू १ सय ७१ जना छन्। रोहिंग्या बूढानीलकण्ठकै लसुनेटार र काभ्रेको पनौतीमा समेत गरी ३ सय ७८ जना छन्।

रोहिंग्यालाई यहाँ ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ। ‘पछिल्लो समय मौलाना जुबेर नाम गरेका व्यक्तिले ३० हजार टाका लिएर रोहिंग्यालाई नेपाल ल्याउने गरेको पाएका छौं,’ नेपाल प्रहरीका एक डीआईजीले भने, ‘यसमा काठमाडौंमै रहेका मोहमद ऐसुप, मोहमद आयास र जाफर मियाँ पनि सक्रिय रहेको पाएका छौं।’ उनीहरू विस्थापित रोहिंग्याका अगुवा हुन्। उनीहरूकै कारण आप्रवासी बढेको गृह मन्त्रालयको ठहर छ । 

गृहसचिव प्रेम राईले उनीहरूमाथि निगरानी बढाएको जानकारी दिए । ‘हामीले रोहिंग्याका विषयमा भर्खरै अध्ययन गरेका थियौं, केही व्यक्तिले उनीहरूलाई ल्याउने गरेको पायौं,’ उनले भने, ‘सीमामा कडाइ गरेका छौं।’ गृहले गठन गरेको कार्यदलका एक सदस्यले पनि गिरोहले पैसा लिएर रोहिंग्यालाई नेपाल भित्र्याइरहेको पाइएको बताए।

‘मौलना जुबेर रोहिंग्यासँग ३० हजार टाका लिई नेपालमा ल्याउने गर्दा रहेछन्। ऐसुप रोहिंग्यालाई ओसारपसार गर्न र जग्गा भाडामा लिनेलगायत काममा संलग्न छन्,’ उनले भने, ‘जाफर मियाँले पनि बंगलादेशमा रहेका आफन्त र चिनजानका व्यक्तिलाई नेपाल भित्र्याएको पाइएको छ।’

रोहिंग्या अध्ययन गर्न गृह मन्त्रालयले गत कात्तिक २४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।

रोहिंग्या आप्रवासीको विगत एक वर्षमा वृद्धि, उनीहरूको घर फिर्ती, थप रोहिंग्यालाई आउन नदिने उपाय र हाल उनीहरू रहेको स्थानको अवस्था अध्ययन गरेर कार्यदलले प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको छ। ‘मौलना जुवेरलगायत आप्रवासीका केही अगुवा बंगलादेशमा रहेका रोहिंग्याबाट रकम असुली गर्दै नेपाल भित्र्याउने कार्यमा संलग्न रहेकाले आप्रवासीको संख्या बढ्दै गएको देखिन्छ,’ छानबिन कार्यदलका एक सदस्यले भने।

रोहिंग्या भित्र्याउने आरोप लागेका मियाँलाई रोहिंग्याको साथी बनेर फोन गर्दा उनले भने, ‘म पनि अवैध रूपमा बसिरहेको छु। तपाईंको साथीसँग पासपोर्ट छ भने म सहयोग गर्न तयार छु।’ उनी नम्बर कसले दियो भन्दै सशंकितसमेत भए।

रोहिंग्याहरू बूढानीलकण्ठमा राममन्दिरनेर जनक अधिकारीको ६ रोपनी ५ आना जग्गामा ३५ वटा टहरा बनाएर बसेका छन्। उनीहरूले वार्षिक दुई लाख ४० हजार भाडा तिर्छन्। यहाँ ४५ परिवारका एक सय ७३ जना छन् । यहाँ बाँसका थप तीनवटा टहरा बनाइँदै छ। जसबाट थप रोहिंग्या आउन लागेको अनुमान गर्न सकिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

बंगलादेश रोहिंग्या

विशेष