News

सभामुख नेम्बाङ कि सापकोटा, कसको सम्भावना कति?

सभामुख नेम्बाङ कि सापकोटा, कसको सम्भावना कति?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल भएको छ । नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियामा अनुभवी भएकाले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव राखेका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पार्टीभित्र आगामी एकताको महाधिवशेनसम्म पूर्ववत् समूहको अवस्था यथावत् रहेकाले त्यसलाई सभामुख चयनमा पनि सम्बोधन गर्नुपर्ने मत राखेका थिए । उनले पूर्वमाओवादी समूहबाट अग्नि सापकोटालाई सभामुख बनाउन सकिने प्रस्ताव राखेको स्रोतले बतायो ।

दुई अध्यक्षबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको आगामी स्थायी समिति बैठकका एजेन्डाबारे पनि छलफल भएको थियो । दुई अध्यक्षले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा सामान्य परामर्श गरेको बालुवाटार स्रोतले बतायो । ‘प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था, सभामुख चयनदेखि पार्टीको आगामी स्थायी समिति बैठकको एजेन्डा निर्माणमा केन्द्रित रहेर उहाँहरूबीच छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो । नेकपाले मंसिर २७ मा सचिवालय र मंसिर २९ मा स्थायी समिति बैठक बोलाएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्यका कारण बैठकमा सहभागी नभए पनि उनीसँगैकै परामर्शका आधारमा दाहालले स्थायी समिति बैठक बोलाएका हुन् । स्थायी समिति बैठकको एजेन्डा तय गर्नेदेखि संगठनात्मक बाँकी काम टुंग्याउन नेकपाले मंसिर २७ मा सचिवालय बैठक डाकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुवासचन्द्र नेम्बाङ सभामुख अग्नि सापकोटा

विशेष