News

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्। काठमाडौंमा शुक्रबार  प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्य पथबाट विचलिन नहुन आग्रह गरेका हुन्।

‘प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक  हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाईहरुलाई छैन,’उनले भने। उनले संगठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्को विकल्प नरहेको बताए।  

उनले प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने बताए। गृहमन्त्री थापाले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्न निर्देशन दिए।  

अबको प्रहरी अपराध अनुसन्धान, शान्ति निर्माणका साथै सामाजिक विकासको हरेक गतिविधिमा जोडिएको उल्लेख गर्दै गृहमन्त्री थापाले नैतिक समाजको बृहत्तर हितमा विचलित नहुन र निर्धक्क भएर जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिए। आपराधिक समूहहरुले सामाजिक खलल पुर्याउने सम्भावनाप्रति प्रहरी सदैव सचेत हुनुपर्नेमा उनले जोड दिए।

विशेष