तातोपानी भन्सार प्रमुख बस्नेतमाथि १० करोड भ्रष्टाचारको मुद्दा
काठमाडौँ —तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख बस्नेत विरुद्ध १० करोड ५६ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
बस्नेतले ९ करोड २१ लाख रुपैंया संखुवासभाको खाँदवारीमा बस्ने जेठान नविनकुमार गौलीको खातामा लुकाएको आरोप लगाएको छ । बस्नेतले आफ्नो नाममा लुकाएको १ करोड ३५ लाख रुपैंयासमेत गैरकानुनी भएको अख्तियारको दावी छ ।
२०४५ सालमा लेखापाल भएर सेवा प्रवेश गरेका बस्नेत अहिले उपसचिव छन् । विभिन्न स्रोतबाट १ करोड ७८ लाख रुपैंया आर्जन गरेका उनले त्यसको ६ गुणा बढी रकम गैरकानुनी आर्जन गरेको अख्तियारको दावी छ । आफ्नै खाताबाट उनले ३ करोड १३ लाख खर्च गरी एक करोड ३५ लाख अस्वाभाविक आर्जन गरेको पुष्टि गरेको अख्तियारको दावी छ ।
भन्सार छुटाउने क्रममा व्यापारी, व्यवसायी र भन्सार एजेन्टसँग घुस लिएको उजुरीमाथि छानविन हुदा बस्नेतले उक्त रकम जेठान नविनकुमार गौलीको खातामा लुकाएको अख्तियारको भनाई छ । अनि जेठानले खरिद गरेको सम्पत्ति बस्नेतले बकसको रुपमा लिने गरेको अख्तियारको दावी छ । उनीहरुको जग्गा, होटल व्यवसाय र अन्यत्र पनि लगानी रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार बस्नेत विराटनगर भन्सारमा काम गरेको अवधिमा गौलीले खाँदवारी वरपर सय रोपनीभन्दा बढी जग्गा खरिद गरेका थिए भने अन्यत्र पनि लगानी फैलाए । अख्तियारले बस्नेतका साथै उनकी श्रीमती सविता गौली, जेठान नविनकुमार गौली र नविनकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौली विरुद्धसमेत मुद्दा चलाएको छ ।
उपसचिव बस्नेतको सम्पत्ति छानविनको क्रममा उनको खातामा १७ लाख रुपैंया जम्मा भएको खुल्यो । जम्मा गर्नेमाथि छानविन हुदा विदेशबाट सामान ल्याउने व्यवसायीले भन्सार छुटाउने प्रयोजनका लागि घुस बुझाएको बयान दिए ।
त्यो रकम पछि उनका जेठान गौलीको खातामा सारिएको खुल्यो । अख्तियारले बस्नेत र गौलीमाथि १७ लाख रुपैंया घुस खाएको अभियोगमा समेत शुक्रवार नै विशेष अदालतमा मुद्दा चलाएको छ । अख्तियारले उनीमाथि १७ लाख रुपैंया घुस लिएको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ ।बस्नेतमाथि मुद्दा जाने निश्चित भइसकेपछि केही दिनअघि अर्थ मन्त्रालयले बस्नेतलाई तातोपानी भन्सारबाट मन्त्रालयमा तानेको थियो ।