News

दस्ताबेज बनाउन ‘एकान्तवास’मा प्रचण्ड

दस्ताबेज बनाउन ‘एकान्तवास’मा प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्ताबेज तयारीमा जुटेका छन् । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो ।

दाहाललाई स्पष्ट काम र समयतालिकासहितको ६ महिने कार्ययोजना ल्याउन गत मंसिर २३ को सचिवालय बैठकले निर्देशन दिएको थियो । त्यसपछि दाहालले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन् ।

‘उहाँ (दाहाल) बिहानैदेखि भेटघाट बन्द गरेर कार्ययोजना लेखनमा व्यस्त हुनुहुन्छ,’ दाहाल सचिवालयका एक सदस्यले बिहीबार साँझ भने, ‘दुइटा विषयको प्रस्ताव तयार भइसकेको छ ।’ शुक्रबार साँझसम्म कार्ययोजना तयार पार्ने लक्ष्य रहेको पनि उनले सुनाए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी समिति बैठक दस्ताबेज

विशेष