काठमाडौँमा पानी पर्यो, चिसोले जनजीवन प्रभावित
काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (शुक्रबार) विहान काठमाडौं उपत्यकामा हल्का पानी परेको छ । पानी परेकाले काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना उल्लेख छ । बुलेटिनमा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने र मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभाग मध्यमसम्म हिमपात हुने जनाइएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानांगले आज बिहानैदेखि मौसम बदली भएकाले वर्षा तथा हिमपातको सम्भावना रहेको बताएका छन । मौसमविद्का अनुुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा गराएको हो ।
भोलि (शनिबार)देखि भने पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुने मौसमविद्को अनुमान छ ।
काठमाडौँमा पानी पर्यो