News

अब एकै शिक्षकबाट सबै विषय अध्यापन

अब एकै शिक्षकबाट सबै विषय अध्यापन

काठमाडौंः कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै थपे, ‘एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन् ।’ आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ । चालू शैक्षिक सत्रमा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ ।

प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक सङ्ख्यामा कार्यरत छन् । नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ । पुराना शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ ।

सरस्वती निकेतन मावि, ब्रह्मटोलका प्रधानाध्यापक रविना महर्जनले एकीकृत पाठ्यक्रमको अवधारणा निकै राम्रो भए पनि एउटै शिक्षकले अध्यापन गर्दा चाहेजस्तो सिकाइ कक्षाकोठाभित्र प्रवेश गर्न नसक्ने सम्भावना रहने बताइन् ।

नयाँ पाठ्यक्रम लागू हुने समय नजिकै आइसक्दा पनि शिक्षकलाई तालिम दिनेलगायतका तयारी भइसकेको छैन । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पाठ्यक्रमका दृष्टिकोणले एकीकृत पाठ्यक्रमको सोच उपयुक्त भएको तर त्यसअनुरूप अध्यापन गर्ने शिक्षक तालिम प्राप्त नभइसकेकाले समस्या सिर्जना हुन सक्ने बताए ।

‘हाम्रा कतिपय शिक्षक एसएलसी वा १२ कक्षा उत्तीर्ण छन् । उनीहरूलाई विशेष प्रकारको तालिम नदियूञ्जेल एकीकृत पाठ्यक्रम सफल हुन सक्दैन’ उनले भने । पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रमा १८ जिल्लाका १०३ वटा विद्यालयमा परीक्षणका रूपमा एकीकृत पाठ्यक्रम लागू गरेको छ ।

परीक्षणमा रहेका विद्यालयहरूबाट विद्यार्थीका लागि क्रियाकलाप कम भएको, विद्यार्थीको सक्रियता कम भएको, पुस्तकमा छापिएका चित्र समाजसँग सम्बन्धित हुनुपर्ने, विषयवस्तु सरलीकरण हुनुपर्ने आदि पृष्ठपोषण प्राप्त भएको केन्द्रका उपसचिव भट्टराईले बताए । 

उनले कक्षा १ मा अध्यापनरत ११ हजार शिक्षकलाई तीन दिनको प्रबोधीकरण तालिम दिइने र त्यसका लागि बजेट स्थानीय तहमा गइसकेको जानकारी दिए । साथै केन्द्रले मुख्य प्रशिक्षक तयार गर्ने योजना पनि बनाइसकेको छ । शिक्षा मन्त्रालयअन्तर्गतकै निकाय शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले कक्षा ३ मा गरेको अध्ययनले विद्यार्थीहरूले प्रतिमिनेट २७ शब्दमात्र शुद्धसँग पढ्न सकेको देखाएको थियो । जब न्यूनतम ४५ शब्द पढ्न सक्नुपर्ने मापदण्ड ईआरओले तय गरेको छ ।

ईआरओका अधिकृत श्याम आचार्यले शिक्षकलाई १० दिनको तालिमले मात्र नपुग्ने र विद्यालय, स्थानीय तथा प्रान्तीय तहमा समेत तालिम दिइनुपर्ने सुझाव दिँदै भने, ‘परिवर्तित पाठ्यक्रमले विद्यार्थीको सिकाइलाई सुधार गर्न सक्नुपर्छ । त्यसका लागि पहिले शिक्षकको विकास गरिनुपर्छ, अनिमात्र पाठ्यक्रम कार्यान्वयनमा लिएर जान सक्नुपर्छ । अन्यथा कक्षाकोठाभित्र हामीले चाहेको सिकाइ पुग्न सक्दैन ।’ 

शिक्षाविद् डा. वाग्लेले शिक्षकलाई एक महिनाको आवासीय तालिम दिन सकिएन भने नयाँ पाठ्यक्रमका बारेमा शिक्षकले बुझ्न कठिन हुने तर्क गर्दै भने, ‘तीन दिनको तालिम झारा टार्ने मात्र हुनेछ ।’ यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

शैक्षिक सत्र शिक्षक अध्यापन

विशेष