News

चिसो बढ्यो, आगामी तीन दिन के होला ? यस्तो छ मौसम पूर्वानुमान

चिसो बढ्यो, आगामी तीन दिन के होला ? यस्तो छ मौसम पूर्वानुमान

काठमाडौँ । शुक्रबारबाट देशभरको मौसममा बदली भएको छ । विगतका वर्षमा पुषको पहिलो सातामात्र हिमपात हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात भएको हो । आठ वर्ष यता चाँडै हिमपात सुरु भई मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको हो । नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सँगै हल्ला वर्षा शुरु भएको महाशाखाले जनाएको छ । 

आज विहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा मौसम परिवर्तन भएको छ । आकाशमा बादलले भरिएको छ । महाशाखाले काठमाडौंमा आज साँझ पानी पर्न सक्ने जनाएको छ। आज साँझ ६÷७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको मौसमविद् मञ्जु वासीले बताइन् ।

मंसिर २७ गते (शुक्रबार)
शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू–भागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ। राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसिर २९ गते (आइतबार)

दिउँसो देशको पश्चिमी भु–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू–भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राति देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

विशेष