सरकार गफाडी भो, काम गर्न सकेन (भिडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीको करिब दुई वर्षको अवधि पुग्नै लाग्दा यसको समीक्षा पनि हुन थालेको छ । प्रधानमन्त्री ओली एक्लैको प्रयासबाट मात्र मुलुक अघि बढ्ने होइन, यसका लागि उनको ‘टिम’ र सम्पूर्ण ‘राज्य संयन्त्र’ प्रभावकारी हुनुपर्छ । प्रधानमन्त्री ओलीको ‘टिम’ राम्रो हुन नसकेको त उनले सचिवालय र मन्त्रिपरिषद्का सदस्यमा गरेको परिवर्तनले पुष्टि भइसक्यो । अझ कतिपय हटाउनुपर्नेलाई नहटाएको र हटाउनु नपर्नेलाई हटाएको गुनासो समेत उनको पार्टीभित्र चल्ने गरेको छ ।
यसले उनको पार्टी भित्रबाट समेत उनलाई यथोचित सहयोग छैन भन्ने देखाउँछ । अझ प्रधानमन्त्री आफैं विरामी परेपछि त कसले के गरिरहेको छ भन्ने समेत उनी हेर्न सकिरहेका छैनन । मन्त्रीहरुलाई सजग र सतर्क गराउँदै अनुगमन गर्न सक्ने अवस्थामा प्रधानमन्त्री ओली छैनन् । सरकारले काम गर्न नसकेको स्वयं सत्तापक्षकै नेताहरु खुलेआम भन्दै हिंडेका छन् । जनताले पनि केही राम्रो भएको छ भन्ने कुराको अनुभूति गर्न सकेका छैनन् ।
विपक्षी दल नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दिलमान पाख्रिन भन्छन् ‘कांग्रेसले गुण र दोषका आधारमा सरकारबारे टिप्पणी गरिरहेको छ । तर, समर्थन गर्नलाई केही गुण त हुनुु पर्यो नि ! अहिले नेकपा पार्टी जनतासामु कबुल गरेका कुनैपनि कुरा पूरा गर्न सकिरहेको छैन । आफैंले ल्याएको घोषणापत्र विपरीत काम गर्दै हिंडेको छ । ’
‘यो सरकार गफाडी भो । अहिलेको आवश्यकता के हो त्यसलाई बुझेर त्यही अनुसार काम गर्नुपर्यो । आवश्यकता छ, काठमाडौं लगायत प्रमुख शहरमा हुने जाम हटाउने । आवश्यकता छ, आकाशमा विमान होल्ड नगरी अवतरण गराउने । आवश्यकता छ, शिक्षा, स्वास्थ्य, खाद्यान्न जनताको सहज पहुँचमा राख्ने । तर, प्रधानमन्त्रीका गफ छन् पानी जहाज र रेलका । यो हाम्रो परिस्थितिसँग मेल खाने कुरा नै भएन । यसले सरकारलाई असफल बनाउँछ । ’ पाख्रिनले भने ।
पाख्रिनका अनुसार सरकारले गरेका थुप्रै काम संविधान विपरीत छन् । प्रधानमन्त्री आफैंले थुप्रै संवैधानिक निकाय र सार्वजनिक संस्थान आफू मातहत राखेका छन् । संविधानविपरीत विधेयक ल्याउँछन् । ऐन कानुन त्यस्तै बनाउन खोज्छन् । यसले सरकारलाई अधिनायकवादतर्फ लैजान्छ । यो कुराको विरोध सबैले गर्नुपर्छ । सरकार यसरी हिंडदा पनि विपक्षी कांग्रेस मौन बसेको आरोप गलत भएको बताउँछन् नेता पाख्रिन् ।
उनी भन्छन्, ‘पुसको पहिलो हप्तबाट तेस्रो चरणको जागरण अभियान सुरु हुँदैछ । जनताको घर दैलोमा पुगेर कांग्रेसको नीति, सिद्धान्तबारे बुझाउने, सरकारका खराब कामबारे जानकारी गराउने, कांग्रेसले गर्ने भावी काम र योजनाबारे बताउने काम कांग्रेसले गर्दैछ । अहिले देशभर कांग्रेस समर्थक बढेका छन् । कांग्रेसप्रति विश्वास बढेको छ । ’
सभापति शेरबहादुर देउवा जुन ढंगले अघि बढिरहेका छन् त्यो सबैलाई मिलाएर लैजाने पवित्र उद्देश्यबाट निर्देशित छ । उनलाई असफल भयो, नेतृत्व भएन भन्ने आरोप लगाउनु नितान्त गलत हो । उनी चुनिएर आएका सभापति हुन् । चुनाव जितेर आएको सभापतिलाई मान्दिन भन्नु राजनीतिक संस्कार होइन । सभापतिलाई आफनो हिसाबले काम गर्न दिनुपर्छ । सभापतिले पनि सकभर सबैलाई मिलाएर लैजानुपर्छ । जहाँसम्म सभापतिले एकलौटी गर्यो भन्ने आरोप छ, त्यो गलत हो । यस्ता निराधार आरोपले पार्टीलाई कमजोर बनाउँछ ।
केपी शर्मा ओली नेपाली काँग्रेस