मेरो टिभीको लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढायाे
काठमाडौं । अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी)को लाइसेन्स रद्द गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ ।
सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध ढंगले डिटिएचबाट च्यानल प्रसारण गरी राज्यलाई करोडौं राजश्व घाटा पार्ने काम गरेकाले कानुन बमोजिम कारवाही अघि बढाउन निर्देशन दिइसकेको बताए ।
पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो । सूचना तथा प्रसारण विभागले मंसिर १७ गते पत्र लेखी नियमसंगत ढंगले नआए लाइसेन्स रद्द गर्ने चेतावनी दिएको थियो ।
क्लिन फिड लागू गर्ने सन्दर्भमा विदेशी च्यानलहरु अवैध डीटीएचको प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले डिभाइन स्ट्रीम नेटवर्क (प्रालि) लाई एक साताको अल्टिमेटम दिएको थियो । मंसिर १७ गते विभागले डिभाइन नेटवर्क (मेरो टिभी) लाई दिएको लिखित चेतावनीमा अवैध प्रसारण नरोके कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने भनिएको छ ।
सो नेटवर्कले गत वर्ष फागुन महिनादेखिनै सोनी पिक्चर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिष्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एशिया प्यासिफिक अन्तर्गत विभिन्न सशुल्क च्यानलहरु अवैध डिटिएचमार्फत प्रसारण गरेको अनुगमनहरुमा पाइएको विभागले जनाएको छ । ती च्यानलको आधिकारिक कारोबार डिजिटल सिस्टम अफ नेपाल (डिएसन)ले पाएको छ ।