News

कक्षा ५ मा एक्ली छात्रा!

कक्षा ५ मा एक्ली छात्रा!

काठमाडौंः मध्यपुर–थिमि–९ भक्तपुरमा रहेको हिमालय आधारभूत विद्यालयको ५ कक्षामा बुधबार एकजना छात्रा मात्र उपस्थित थिइन् । कक्षामा एक्लै उपस्थित अस्मिता भुजेलले अरू साथी नआएका कारण आफू कक्षामा एक्लै परेको बताइन् । कक्षामा सबै गरेर ६ जना मात्रै विद्यार्थी रहेको उनको भनाइ छ । 

नियमित स्कुल आउने विद्यार्थीको संख्या न्यून रहे पनि विद्यालयमा बालविकाससहित सात शिक्षकको दरबन्दी छ । विद्यालयका प्रधानाध्यापक प्रकाशमान बज्राचार्यले विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएको बताए । जम्मा ५६ जना विद्यार्थी भर्ना भएको विद्यालयको मासिक खर्च भने एक लाख ४९ हजार रहेको विद्यालय निरीक्षक नेत्रप्रसाद दाहालले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थी आकर्षित गर्नेतर्फ विद्यालय व्यवस्थापन समिति तथा वडा कार्यालयबाट कुनै पहल भएको देखिँदैन । 

वडासदस्य चन्द्रप्रसाद धौबन्जारका अनुसार विगतमा विद्यार्थी संख्या कम भएपछि विद्यालय मर्ज गर्ने प्रक्रिया अघि बढाएको थियो । तर, विद्यालयका शिक्षक, कर्मचारीले नमानेपछि मर्जको प्रक्रिया रोकियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

छात्रा भक्तपुर हिमालय आधारभूत विद्यालय कक्षा ५

विशेष