News

हिमपातले किसान उत्साहित

हिमपातले किसान उत्साहित

ओखलढुंगाः मंसिरमा परेको हिउँले किसान उत्साहित भएका छन् । समयमै परेको हिउँले खेतबारीमा लगाईएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुसी भएका हुन् ।

सुख्खाग्रस्त क्षेत्रमा बाली फस्टाउने र उत्पादन बढ्ने सम्भावना देखिएको ओखलढुंगाको पात्लेका किसान डेण्डी शेर्पाले बताए । विगतका वर्षहरुमा पौष अन्तमा मात्रै हिउँ पर्ने क्षेत्रहरुमा पनि यसवर्ष मंसिरमै हिउँ झरेका उनको भनाई छ । ‘पोहोर तिर पुस मागमा मात्रै हिउँ झथ्र्यो,यसवर्ष बेलैमा हिउँ झरेको छ । हामी किसानका लागि यो राम्रो हो ।’ शेर्पाले भने, ‘एक्कासि चिसो बढ्दा जन–जीवनचाँही अलिक कष्टकर नै छ, कतिपयले तातो न्यानोको जोहो गर्न भ्याएका थिएनन् । तर जाडो भएपनि गहुँ सप्रिन्छ । तरकारी राम्रो फल्छ ।’

सोलुखुम्बुका सबैजसो उच्च भूभाग सहित ओखलढुंगाको खिजीदेम्बा, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका क्षेत्रका उच्च भागमा हिउँ परेको छ । त्यस क्षेत्रमा हिउँ सँगैको आकाशे पानीका कारण मानिस र पशुचौपाय चिसोको मारमा छन् ।

माथिल्लो सगरमाथाका जिल्लाहरुमा शुक्रबारदेखि भारी हिमपात भएको छ । ओखलढुंगा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ झरिरहेको छ । ओखलढुंगाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भूसिंगा सहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।

चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउनेको आन्तरिक पर्यटकको घुइँचो लागेको छ । हिउँमा रमाउनको लागी ओखलढुंगा सदरमुकाम र आसपासका क्षेत्रका व्यक्तिहरुको घुइँचो लागेको जन्तरखानीका होमस्टे सञ्चालक हरिकुमार मगरले बताए ।  

ओखलढुंगा किसान हिउँ

विशेष