म विशेषदूत नियुक्त भएको छैन : नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकौ स्पष्ट पारेका छन् ।
उनले सीमा विवाद समाधानका लागि सरकारबाट कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजाँदा दुई देशबीच विवाद सिर्जना हुने भन्दै सीमाका समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएकाले अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने उनको विश्वास थियो ।
नेता नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताए।
उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनले बताए ।
नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।