विद्यार्थीसहित कलेज सञ्चालकहरु आन्दोलनमा
काठमाडौँ । कम्प्युटर साईन्स एण्ड आईटी (CSIT) मा अध्ययनरत विद्यार्थीहरु विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् ।
कम्प्युटर साईन्स आल्मुनाई एसोशिएसन, स्टुडेन्ट एसोशिएसनअफ कम्प्युटर साईन्स (SACS), कम्प्युटर साईन्स एण्ड आईटी एसोशिएसन अफ नेपाल (CSITAN) र कलेज संचालकहरुले संयुक्त रुपमा माईतीघर मण्डला सहित देशभर प्रदर्शन गरे । माईतीघरमा भएको तीन हजार भन्दा वढीको प्रदर्शन -यालीमा परिणत भई बानेश्वरमा कोणसभा गरी समापन भएको थियो ।
विभिन्न सरकारी निकाय, संघ संस्थानमा लोक सेवा आयोग मार्फत हुने सुचना प्रविधि सम्बन्धि विभिन्न पदहरुमा पढेका दक्ष जनशक्तिलाई खुला प्रतिस्पर्धाबाट वञ्चित गराई हजारौँ आईटी सम्बद्ध दक्ष जनशक्तिमाथि अन्याय गरेको उनीहरुको आरोप छ । विश्वव्यापी पहिचान भएको विषयलाई सरकारी निकायबाट नै अवसरबाट वञ्चित गराएकाले आन्दोलनमा उत्रिनुपरेको आन्दोलनमा सहभागी एक विद्यार्थीले गुनासो गरे ।
त्रि.विबाट संचालित उपप्रध्यापक पदको परीक्षामा समेत गम्भीर त्रुटि भएपनि राज्य र त्रिभुवन विश्वविद्यालय नै आफूबाट उत्पादित जनशक्तिका बारेमा वेखबर रहेकाे आरोप प्रदर्शनमा सहभागीले लगाएका छन् ।
सभामा बोल्दै कम्प्युटर साईन्स आल्म्युनाई एसोसिएशनका अध्यक्ष सुशान्त पौडेलले राज्यबाट सुनियोजित रुपमा कम्प्युटर साईन्स एण्ड आईटी माथि भएको विभेद अन्त्य नभएसम्म आन्दोलन जारी रहने र सम्पुर्ण आईटी सम्बद्ध वुद्धिजीवि, पेशाकर्मीलाई समेटी आन्दोलन नयाँ उचाईमा पु-याई उपलब्धि हासिल गराइ छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
मागहरु :
१. त्रि. वि. सेवा आयोगद्धारा मिति : २०७६।०८।०२ र २०७६।०८।०३ गते संचालित कम्प्युटर विज्ञान विषयको उपप्राध्यापकपदको परिक्षा रद्ध गरी पुन: परिक्षागरियोस ।
२. लोक सेवाआयोग द्धारा विभिन्न मितिमा सूचना प्रविधि पदका विभिन्न तहका लागि जारी गरिएका विज्ञापनमा कम्प्युटर विज्ञान तथा सुचना प्रविधि अध्ययन गरेका विद्यार्थीले खुला प्रतिस्पर्धामा समावेश हुन पाउने वातावरण तुरुन्त बनाईयोस ।
३. आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका लागि CSIT को शुल्क वैज्ञानिक पद्धतिमा निर्धारण गरियोस ।
४. BSc CSIT मा निर्धारित १० प्रतिशत छात्रवृत्तिको व्यापक दुरुपयोग भएकोले त्रि. वि. ले नै छात्रवृतिका लागि विद्यार्थी छनौट गरी सम्बन्धित क्याम्पसमा भर्ना गराईने व्यवस्था गरियोस ।
५. BSc. CSIT को Entrance Exam र Result व्यवस्थित गरी आंगिक क्याम्पसमा समयमै भर्ना हुन पाउने वातावरण बनाइयोस र सम्बन्धन प्राप्त क्याम्पसमा पनि त्रि. वि. मापदण्ड अनुरुप भर्ना हुने प्रक्रिया अघि बढाइयोस ।
६. MSc. CSIT र BSc. CSITकाे शैक्षिक क्यालेण्डर प्रकाशित गरी लागु गरियोस ।
७. आंगिक, सम्बन्धनप्राप्त क्याम्पसहरुमा र CSIT केन्द्रिय विभागमा Research and Development को वातावरण निर्माण हुने गरी कार्यक्रम तय गरी यथाशिघ्र लागु गरियोस ।
८. शैक्षिक गुणस्तर सुधारकालागि पूर्णकालिन शिक्षक शैक्षिक मर्यादा भित्र बसेर विभाग तथा क्याम्पसमा तोकिएको सिफ्ट अनुसार अनिवार्य उपस्थित रहने वातावरण मिलाईयोस ।
९. आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा CSIT मा अध्यापन गर्ने शिक्षकको योग्यता र मापदण्ड कडाईका साथ अनुगमन गरी लागु गरियोस ।
१०. BSc. CSIT आठौं सेमेस्टरमा जस्तै अन्य सबै सेमेस्टरमा मौका परिक्षाको व्यवस्थागरियोस ।
११. IT Council गठनका लागि तत्काल आवश्यक कदम चालियोस ।