News

बाल संरक्षणका नाममा गलत गर्नेमाथि कारबाही गरिने

बाल संरक्षणका नाममा गलत गर्नेमाथि कारबाही गरिने

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बाल संरक्षणको नाममा गलत खालका गतिविधि गर्नेमाथि कडा कार्वाही गर्ने बताउनु भएको छ । मन्त्री गुरुङले बाल संरक्षणको क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत र गलत खालका गतिविधि गर्नेलाई कार्वाही गर्ने नीतिलाई कडाईका साथ लागू गर्ने पनि स्पष्ट पार्नु भयो ।

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सिविन नेपालका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले दीगो विकास लक्ष्य हासिल हुनेगरी बाल अधिकारको क्षेत्रमा काम गर्न आवश्यक कानुन, नियमावली र निर्देशिका संशोधन गर्ने कामलाई पनि सरकारले तीव्रता दिएको बताउनु भयो ।

‘बाल अधिकार र संरक्षणको क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत र गलत खालका गतिविधि गर्नेलाई सरकारले कडा कार्वाही गर्नेछ, मन्त्री गुरुङले भन्नु भयो । ‘बालबालिका, महिला र ज्येष्ठ नागरिकको हित हुनेगरी आवश्यक सबै कानुन, नियमावली र निर्देशिका बनाउने कामलाई सरकारले तीव्रता दिएको छ ।’

मन्त्री गुरुङले बाल हितको क्षेत्रमा काम गर्ने संघ, संस्थासँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको बताउनु भयो । 

भेटमा सिविन नेपालका अध्यक्ष माधव प्रधानले बाल अधिकारको क्षेत्रमा प्रभावकारी काम हुने गरी आवश्यक नियमावलीको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो । 
 

विशेष