नेकपा स्थायी समिति बैठक सुरु
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको हो। बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन्।
स्थायी समिति बैठक एक वर्षपछि बसिरहेको हो। यसअघि अघिल्लो वर्ष पनि मंसिर २९ देखि नै बैठक सुरु भएको थियो। नेकपा विधानमा भने स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने व्यवस्था छ।
स्थायी समिति बैठकअघि नेकपा सचिवालय बैठक बसेको थियो। बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा कार्यसूची तय गरेको छ।सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समितिका लागि एजेन्डाहरु तय गरेको बताएका हुन्।
उनका अनुसार, बैठकको कार्यसूचीको पहिलो नम्बरमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन रहेको छ। त्यो प्रतिवेदनका बारेमा दुवै अध्यक्षले परामर्श गरेर प्रस्तुत गर्न लागिएको उनले जानकारी दिए। त्यस्तै, बैठकको दोस्रो कार्यसूचीमा विधान संशोधनको विषय छ।
तेस्रो नम्बरमा नेपाल भारत सीमा समस्यालाई राखिएको छ। नोभेम्बर २ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ। सत्तारुढ दल नेकपाले स्थायी समितिमै त्यसबारे छलफल गर्न लागेको हो।त्यस्तै, केन्द्रीय कमिटीको अर्को बैठक पनि कार्यसूचीमा छ। नेकपा गठन भएको केही दिनमै बसेको पार्टी केन्द्रीय समितिको बैठक फेरि बस्न सकेको छैन। अन्तिम कार्यसूचीमा विविध भनिएको छ।