दुर्घटना रोक्न कार्ययोजना बनाइ लागु गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ र प्रहरी प्रमुखलगायत सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
पछिल्लो पटक सडक दूर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई तत्काल घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिए । सिन्धुपाल्चोकको दुर्घटनाको खबरले आफु निक्कै भावुक भएको भन्दै उनले दूर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएकाले त्यसलाई तत्काल रोक्नुपर्ने उल्लेख गरेका छन् ।
सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन । हवाई दूर्घटनामा जस्तै हरेक सडक दूर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दूर्घटनाको छानविन गरि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गृहमन्त्रालयले छलफलमा ब्यक्त गरेको छ । छलफलमा गृहसचिव प्रेमकुमार राई, भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमूख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे जानकारी गराएका थिए ।