News

तामाकोसी ०७८ मा मात्रै सञ्चालनमा आउने, १० वर्षमा पनि पूरा नहुने भयो आयोजना

तामाकोसी ०७८ मा मात्रै सञ्चालनमा आउने, १० वर्षमा पनि पूरा नहुने भयो आयोजना

काठमाडौँ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ ।

ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय लाग्ने भएको हो ।

गत असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । आयोजनाका संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य ०७६ को चैतभित्र पूरा गरी ०७७ असारभित्र पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर, अहिलेकै गतिमा काम हुने हो भने दुईवटै ठाडो सुरुङमा पेनस्टेक जडानका लागि मात्र झन्डै १३ महिना लाग्ने देखिएको छ ।

पाइप जडानपछि फिनिसिङ तथा परीक्षण कार्य सक्न कम्तीमा २ महिना लाग्ने अनुमान छ । यसरी अहिलेकै गतिमा काम भएमा  १५ महिनाअघि आयोजना सञ्चालनमा नआउने देखिएको हो । 

यो समाचार नयाँ पत्रिका दैनिकमा पुष्प कोईरालाले लेखेका छन।  

माथिल्लो तामाकोसी

विशेष