News

हिमपातले मनाङमा याकचौँरी असुरक्षित

हिमपातले मनाङमा याकचौँरी असुरक्षित

मनाङः हिमाली जिल्ला मनाङमा हिमपात भएपछि पशुचौपायालाई चिसोले सताउँदा पशुपालक किसान चिन्तित भएका छन् । भारी हिमपात हुँदा पाल्दै आएका पशुचौपाया हराउने र याकचौँरीलाई नोक्सान पुर्याएको सम्झँदै यसपटक पनि नोक्सान हुने डरले किसानले चिन्ता व्यक्त गरेका छन् । जिल्लाको नासों गाउँपालिका–४, ओडारगाउँका सुुरेश थकालीका अनुसार हिमपात हुँदा याकचौँरी हराउने डर हुन्छ । हिमपात रोकिएको समयमा याकचौँरी खोज्न हिँडेको उनले बताए । हिमपात भइरहेको छ । गत सालजस्तै याकचौँरीको नोक्सान नहोस् भनेर खोज्न हिँडेको छु ।

हिमपात पर्ने बित्तिकै किसानलाई पशुको चिन्ता हुन्छ, उनले भने, ‘१०० याकचौँरी थिए, पोहोर दसवटा पुरिएर मरे । अहिले त्यस्तो पनि यस्तै होला कि भन्ने चिन्ताले सताउन थालेको छ ।’ हिमपातले गोठबाहिर भएका याकचौँरी असुरक्षित बनाउने गरेको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–१, उपल्लो पिसाङका याङडुङ गुरुङले हिमपात हुने शङ्का लाग्ने बित्तिकै याकचौँरीलाई लेकबाट गाउँ झारेको बताए । 

५० वटा याकचौँरी र ६० बढी भेडा च्याङ्ग्रा पालेका गुरुङले हिमपात हुँदा आफू मात्र नभई किसानका पशुचौपायाले पनि सास्ती पाउने गरेको बताए । हिउँ परेमा स्याउ, आलुलगायतको बाली त सप्रन्छ । हामी मानिसजस्तै पीडा पशुचौपायालाई पनि पर्ने गरेको छ । पशुचौपायालाई खाने घाँस पाउन गाह्रो हुन्छ । हिमपात निरन्तर भए हाम्रा याकचौँरी मर्ने अवस्थामा पुग्छन् उनले भने । किसानका अनुसार हिमपात हुँदा ज्यादा चिसोले समेत याकचौँरी मर्ने गर्छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नार्पाभूमि र नासों गाउँपालिकाको हरेक गाउँका बासिन्दाले याकचौँरी पालेका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमपातले पशुचौपायालाई समस्या पारेको छ । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मनाङका सबै ठाउँमा हिमपात भएको बताए । उनका अनुसार चिसो बढ्दै गर्दा स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । कर्मचारीलाई कार्यालयसम्म जान समस्या भएको छ । सवारीसाधन सञ्चालन हुन सकेको छैन । स–साना खोलाको पानी जमेर बरफ बन्न थालेको छ ।

मनाङ हिमपात याकचौंरी

विशेष