News

जडिबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

जडिबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

सुर्खेत। तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्। जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन्।

'सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए', उनले भने, 'तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाकै अवस्था अज्ञात रहेको छ।'

उनका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन्।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले  जानकारी दिए।

उनका अनुसार तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन् । भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ।

 

बेपत्ता

विशेष