News

धनकुटा दुर्घटना: क्षतिपुर्ती दिने सहमतिसंगै ७ घण्टापछि खुल्यो कोशी राजमार्ग

धनकुटा दुर्घटना: क्षतिपुर्ती दिने सहमतिसंगै ७ घण्टापछि खुल्यो कोशी राजमार्ग

धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्त र स्थानीयबासीको अवरोधका कारण बन्द रहेको कोशी राजमार्गको हिले–सिधुवा सडक खण्ड सात घण्टापछि आईतबार साँझबाट सुचारु भएको छ । मृतकका परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउँने, घाईतेलाई उपचारको व्यवस्था गर्ने लगायत सहमतिपछि साँझ सात बजेबाट सडक अवरोध हटेको हो । 

छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आईतबार दिउँसो करिव १२ बजे हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर ठोक्किँदा टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाईते भएका टेम्पुमा सवार छथर जोरपाटी–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास–५ का २५ बर्षीय प्रदिप बस्नेतको उपचार भईरहेको छ ।

घटनापछि आक्रोसित मृतकका आफन्त र स्थानीयबासीले दुर्घटनास्थलमा शव तेस्राएर प्रदर्शन गर्दै दिनभर सडक अवरोध गरे । उनीहरुले टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शन चर्किदै गएपछि जिल्ला सदरमुकामबाट दुर्घटनास्थलमा दर्जनौं सुरक्षाकर्मी पठाईएको थियो । राजमार्गमा दिनभर सवारी आवतजावत हुँन नसक्दा सयौं सवारी सडकमै रोकिए । मध्यान्नदेखिकै सडक अवरोधका कारण घण्टौं चिसोमा कठ्यांग्रिनु पर्दा यात्रुको बिचल्ली भएको थियो ।

घटनापश्चात प्रशासनको पहलमा मृतकका आफन्त र ट्रेलर साहु पक्षवीच अपरान्ह छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालयमा भएको करिव दुई घण्टा लामो छलफलमा दुई पक्षवीच सहमति जुटेपछि साँझबाट सवारी सुचारु भएको धनकुटाका प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए ।

सहमतिपछि दुवै मृतकका शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । डोजर बोक्न प्रयोग गरिने टेलर र चालक प्रहरी नियन्त्रणमा छन् । राजधानी दैनिकमा प्रकाशित 

धनकुटा दुर्घटना

विशेष