जडिबुटी संकलन गर्न गएका बेपत्ता १२ जना, ४ दिनपछि सकुशल घर फर्किए
जुम्ला। जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका जुम्ला तिला गाउँपालिका ९ को ढिपुगाउँका १२ जना सकुशल घर फर्किएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन सकेका थिएनन् ।
उनीहरु सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर पाटनतर्फ गएका थिए । जडीबुटी संकलन गर्न गएकाहरुमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा थिए ।
आफूहरु सकुशल घर आइपुगेको बेपत्ता भएकामध्ये छविराज बोहराले फोन गरेर जानकारी दिनुभएको हो । ‘हामीहरु चाँडै नै घर फर्किने मनसायमा थियौँ तर हिमपातका कारण बाटोमा नै रोकिनु पर्याे । सबै जना सकुशल घर फर्कियौँ’, उहाँले भन्नुभयो ।
यसअघि जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिने तय भएको थियो ।