पूर्वसभामुख क्युनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव
सोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मङ्गलबार पूर्व सभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका छन्। उनको पाँच वर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि उनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको जनाइएको छ।
मुख्य प्रशासनिक नेतृत्वदायी जिम्मेवारीलाई प्रधानमन्त्रीको रुपमा क्युनले सफलतापूर्वक सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गरेका छन्।सफल व्यवसायी र वाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेवारी सफलतापूर्वक पुरा गरिसकेकाले उनले यो जिम्मेवारी पनि कुशलतापूर्वक पुरा गर्ने अपेक्षा गरिएको हो।
उनलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानेर प्रधानमन्त्रीमा नियुक्तीका लागि प्रस्ताव गरिएको बताइएको छ। उनलाई अब संसदीय सुनावाईपछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिनेछ। प्रधानमन्त्रीमा नियुक्त भएमा दक्षिण कोरियामा सभामुखसमेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने उनी नै पहिलो व्यक्ति हुनेछन्। -रासस