News

सिन्धुपाल्चोक बस दुर्घटनाः बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै

सिन्धुपाल्चोक बस दुर्घटनाः बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै

सिन्धुपाल्चोकः ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ ।

जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए ।

फर्कँदा सुमनले हाँकेको बा २ ख ४४६८ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा चालक सुमनले पत्नी गुमाए । दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नि सुनिता एक थिइन् । घटना लगत्तैदेखि सुमन फरार छन् । उनीहरुका काखे शिशु खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको संरक्षणमा छन् ।

‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घटनामा पत्नी गुमाएको सोमबार मात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्यावयका प्रमुख सई राजेश दाहालले भने ।

दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पतालमा लगिएको थियो । उनका अनुसार सुरुमा प्रहरीलाई दुर्घटनाका घाइते र मृतकक मध्येकै एकको शिशु भएको लागेको थियो । सदाबहारबाट घाइते रेफर भइसक्दा पनि शिशु कसैले दाबी नगरेपछि प्रहरीले उनका आफन्तको खोजी थालेको थियो ।

अलपत्र परेका शिशुको आफन्त खोजी गर्ने क्रममै चालकको पहिचान खुलेको सई दाहालले बताए । ‘पछि मृतक सुनिता चालकको पत्नि भएको खुल्यो,’ उनले भने । उनका अनुसार शिशु तन्दुरुस्त छन् । यति ठूलो दुर्घटनामा उनलाई सामान्य पनि चोटपटक लागेको छैन । उनी अस्पतालका महिला स्वाथ्यकर्मीसँग बसिरहेका छन् ।

शिशु र मृतक सुनिताका घर र माइती पक्षका आफन्त प्रहरीसँग टेलिफोन सम्पर्कमा आइसकेका छन् । टेलिफोनमा आउँछु भने पनि शिशुको जिम्मा लिन र मृतकको शव बुझ्न अहिलेसम्म कोही आफन्त नआएको दाहालले जानकारी दिए । मृतक सुनिताको शव बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छ । दुर्घटनामा धेरैले ज्यान गुमाएकोमा डर र पत्नी गुमाउँदाको शोकले चालक सम्पर्कमा आउन नचाहेको प्रहरीको अनुमान छ । याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।

बस दुर्घटना सिन्धुपाल्चोक

विशेष