News

पैसा चोर्न बैंकमा १३ सय खाता!

पैसा चोर्न बैंकमा १३ सय खाता!

काठमाडौंः सर्वसाधारणको हस्ताक्षर किर्ते गरेर बैंकबाट रकम चोर्ने गिरोहले डेढ दर्जन बैंकमा एक हजार तीन सयभन्दा बढी खाता खोलेको भेटिएको छ । बैंक–वित्तीय संस्थामा रहेका व्यक्तिका गोप्य विवरण र हस्ताक्षर चोर्ने समूहले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, भक्तपुर, बागलुङ, पर्वतलगायत जिल्लाका सर्वसाधारणका नाममा शंकास्पद बैंक खाता खोलेको पाइएको हो ।

जनता बैंक (हाल ग्लोबल आईएमईमा मर्ज) को बानेश्वर र न्युरोड शाखाबाट अपरिचित व्यक्तिले गोपालमान राजबहाकका नामबाट १९ लाख ९९ हजार रुपैयाँ चोरेको घटनाको अनुसन्धान गर्ने क्रममा विभिन्न १९ वटा बैंक तथा वित्तीय संस्थामा शंकास्पद खाता खोलिएको पत्ता लागेको हो । त्यसमध्ये तीन सय ३० वटा खाताको पहिचान भइसकेको प्रहरीले बताएको छ । मंसिर ९ गते रकम चोर्ने समूहका मनीष घिमिरे, अञ्जन बराल, सुवास श्रेष्ठ, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरे पक्राउ परिसकेका छन् । उनीहरूको साथबाट प्रहरीले दुई हजारभन्दा बढी व्यक्तिको नेपाली नागरिकताको फोटोकपी र सोही संख्यामा पासपोर्ट साइजका फोटो बरामद गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले रकम चोर्ने समूहमाथि अनुसन्धान गर्ने क्रममा उनीहरूले विभिन्न व्यक्तिका नाममा एक हजार तीन सयभन्दा बढी बैंक खाता खोलेको भेटिएको बताए । खातामा चोरीमा संलग्न आफैंले आफ्नो हस्ताक्षर गर्ने गरेको पनि पाइएको छ । सर्वसाधारणको खाताको हस्ताक्षर चोर्न तथा नयाँ खातामा आफूअनुकूल हस्ताक्षर गर्न ‘अभ्यास गरिएका’ तीन थान रजिस्टर बुक र बैंकमा भएका खाताको हस्ताक्षर पनि प्रहरीले जाँच गरेको थियो ।

‘सम्बन्धित व्यक्तिलाई पत्तै नदिई बैंकको रकम चोर्ने समूहले शंकास्पद खाता सञ्चालन गर्ने गरेको पाइयो,’ सुवेदीले भने, ‘बैंकमा सहज पहुँच विस्तार गरेर अपराधबाट संकलित रकम जम्मा गर्न र सेयर कारोबारका लागि ती खाता सञ्चालनमा ल्याएको देखिन्छ ।’ चोरको समूहले शंकास्पद खाता खोल्ने प्रयोजनका लागि ०७४ बाटै विभिन्न व्यक्तिबाट नागरिकताका फोटोकपी संकलन गरेको अनुसन्धानबाट देखिएको छ ।

राजबहाकको खाताबाट रकम चोरिएपछिको अनुसन्धानमा प्रहरीले १९ वटा बैंकका दुई हजार व्यक्तिका नागरिकताका फोटोकपीसहित जनता बैंकका नकाटिएको १६ र काटिएका ५७ चेकबुक, ज्योति विकास बैंकको एक थान, एभरेस्ट बैंकका २३ थान, माछापुच्छ्रे बैंकका १९ थान, मुक्तिनाथका ४२ थान, एनआईसी एसियाका ६८ थान चेकबुक बरामद गरेको थियो । एनआईसीका ८२ र अन्य बैंकका सात थान एटीएम कार्ड पनि फेला पारेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

बैंक खाता पैसा

विशेष