News

हिउँले बन्द भएको खप्तडको बाटो खोल्दै नेपाली सेना

हिउँले बन्द भएको खप्तडको बाटो खोल्दै नेपाली सेना

कैलालीः सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले अहिले बाटो खोल्न शुरु गरेका गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए । 

नेपाली सेनाका अनुसार खप्तड क्षेत्रमा अहिले पनि कम्तीमा चार फिट हिउँ अझै कायमै रहेका कारण बन्द भएका पर्यटकीय बाटा खोल्न समस्या भइरहेको छ । हिमपातका कारण खप्तडमा रहेका पवित्र तीर्थस्थल त्रिवेणी, सहर्षलिङ्ग र घोडादाउने पाटनको बाटो बन्द भएका छन् । नाटेश्वरी, खप्तडबाबा आश्रमसम्म जाने बाटो भने खोलिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ ।

निकुञ्जमा रहेका बाटा हिमपातका कारण बन्द भएपछि त्यहाँ जाने पर्यटक तथा नेपाली सेनालाई गस्ती गर्नसमेत समस्या भएको बताइएको छ ।

हिमपातपछि खप्तडको तापमान रातिको समयमा माइनस आठ डिग्री सेल्सियस रहने गरेको गुरु गोरख गुल्मले जनाएको छ । खप्तडको सहर्षलिङ्गमा रहेको नेपाल टेलिकमको टावरले काम नगरेका कारण सञ्चार सम्पर्कमा समस्या भएको स्थानीय दीपकबहादुर खड्काले जानकारी दिए । 

खप्तड राष्ट्रिय निकुञ्ज हिमपात नेपाली सेना

विशेष