विद्या भट्टराईले ग्रहण गरिन् सांसदको शपथ
काठमाडौं – उप निर्वाचन मार्फत कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसदको शपथ ग्रहण गरेकी छन्।उनले मंगलवार सांसदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन्। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।
सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो । भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् । भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।