चितवनमा बिषादी परिक्षण प्रयोगशाला संचालनमा
भरतपुर। चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा विक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मंगलवारदेखि शुरु गरिएको छ ।
प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो । प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ/दशवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ ।
एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा विक्री गर्न बन्देज लगाइने छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष दु्रत विश्लेषण) भनिन्छ ।
यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ । प्रयोगशाला शुभारम्भका दिन लौकामा गरिएको परीक्षणमा २० प्रतिशत मात्रै देखिएको ढकालले जानकारी दिए ।
प्रारम्भिक परीक्षणमा बोडी र भण्टामा बढी विषादी पाइएको उनले बताए । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गर्नेछन् ।
बिषादी परिक्षण