‘सगरमाथा’ र ‘लालीगुराँस’ अब तारा ग्रहको नाम
काठमाडौँ। सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं । विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ । सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामकरण गरिएको हो । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालीगुराँस’ भएको छ ।
इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १००औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् । सगरमाथा तारालाई नेपालबाट सानो टेलिस्कोपबाट समेत राम्ररी देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवं आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराईले बताए । ‘सगरमाथा तारालाई परिक्रमा गर्ने ग्रह पत्ता लागे नेपालीबाट नामकरण गरिनेछ,’ उनले भने ।
सोसाइटीका अनुसार सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ । यो तारा सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो । यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ । लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन । यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ ।
यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छ।