News

आफ्नो समस्याको उपचार अरुसंग नखोजौं : विज्ञहरु (भिडियोसहित)

आफ्नो समस्याको उपचार अरुसंग नखोजौं : विज्ञहरु (भिडियोसहित)

विभिन्न क्षेत्रका विज्ञहरुले नेपालका मिडिया र राजनीतिज्ञहरु आफ्नै देशको इतिहासबारे बेखबर रहेको र ज्ञान राख्नेहरु पनि गलत सूचना लिएर बसेको बताएका छन् । नेपाल–चाइना मिडिया फोरमले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले व्यक्ति विशेषका गल्तीलार्ई दुई देशको सम्बन्ध बिगार्ने किसिमले व्याख्या गरिँदा त्यसको क्षति राष्ट्रले भोग्नुपर्ने अवस्था आएको बताए । 

चीनलगायत विश्वजगतलाई नेपालप्रतिको दृष्टिकोण  भारतीय सामग्री पढेर नबनाउन नेपालले अपिल गर्नुपर्ने सल्लाह उनीहरुको छ । कार्यक्रमका वक्ताहरुको निष्कर्ष थियो– ‘नेपाल, भारत र चीनको सम्बन्धमा नेपालले ट्रान्जिट प्वाइन्टका रुपमा नभई साझेदारी शक्तिका रुपमा आफूलाई स्थापित गर्नुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन र भारतसंग नेपालले त्रिदेशीय रणनीति चाहेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटमा प्रयोग भएको ‘टु प्लस वान’ आफूलाई उपयुक्त नलागेको उहाँको प्रतिक्रिया थियो । 

आफ्नो नेतृत्वमा निकट भविष्यमै नेपाली राजनीतिज्ञहरुको टोली चीन जान लागेको जानकारी दिँदै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि त्यो भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

‘चिनिया राष्ट्रपतिसंग मेरो आठौं पटकको भेट हो । उहाँले मेरै नेतृत्वमा प्रतिनिधिमण्डल आइदेओस् भनेर हाम्रो प्रधानमन्त्री र मसंग आग्रह गर्नुभएको छ ।’ अध्यक्ष दाहालको भनाई थियो– ‘नेपालका राजनीतिक पार्र्टी र नेताहरुले चीनको अध्ययन गर्ने र उहाँहरु पनि आएर नेपालको अध्ययन गर्ने सहमति भएको थियो । सहमति पछि पहिलो टोली छिट्टै चीन भ्रमणमा जाँदैछ ।’

">

प्रचण्डले नेपालका राजनीतिज्ञ, बुद्धिजिवीहरु प्रोइन्डियन, प्रोचाइनिज र प्रोअमेरिकन हुने गरेको भन्दै आफूहरु प्रोनेपाली भएर नेपालको विकास निर्माणमा केन्द्रित हुने बेला आएको बताउनुभयो । 

नेपाली काँग्रेसका नेता डा रामशरण महतले हामीले हाम्रो प्राथमिकतामा रेललाई राखेपनि चिनियाँले भने नेपालमा भौतिक पूर्वाधार खोजेको बताउनुभयो । उहाँले सडक यातायात रेलसेवाको पूर्वाधार भएको उल्लेख गर्दै कनेक्टिभिटी क्षेत्रमा नेपाल सरकार उदार हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको सन्दर्भमा आन्तरिक पर्यटनका लागि अरु ठाउँबाट ४० लाख चिनियाँ तिब्बत जाने गरेको सन्दर्भमा केही लाख पर्यटक नेपाल ल्याउन सके उल्लेख्य उपलब्धि हुने डा. महतको भनाइ छ । 

उहाँले चिनियाँ लगानी आकर्षण गरी निर्यात बढाउनुपर्ने, व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने भन्दै चिनियाँ उत्पादनका कतिपय प्लान्ट नेपालमा राख्न सकिने सम्भावना व्यक्त गर्नुभयो ।

">

काठमाडौं स्कुल अफ ल का प्रमुख प्रा.डा. युवराज संग्रौलाले कहिले भारतले सक्यो, कहिले चीनले बर्बाद गर्यो भन्ने जस्ता समाचारबाट नेपाली सञ्चारक्षेत्र मुक्त हुनुपर्ने बताउनुभयो । 

भारत र चीनजस्ता देशलाई जुधाउने भन्दा पनि मिलाउने तिर लाग्नु बुद्धिमानी हुने भन्दै उहाँले इतिहासप्रति सजग र सचेत हुन सल्लाह दिनुभयो ।
थुप्रै बौद्धिक नेपालीहरु चीन भ्रमणमा पुगेर आएपनि तिब्बतमा नेपाली कलाकारले भित्र्याएको कलाका विषयमा कलम चलाउन नसकेकोमा उहाँको असन्तुष्टि रहेको छ ।

प्रा. संग्रौलाले भन्नुभयो– ‘नेपालीहरु हिमालय संस्कृति र सभ्यताका उपज हौं । हिमालय सभ्यता हरायो भने हाम्रो पहिचान हराउँछौं । एक अर्कालाई आक्षेप लगाउनुभन्दा यसको संरक्षणमा एकजुट हुनु आवश्यक छ ।’

">

नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले नेपालले भारत र चीनसँग सन्तुलित छिमेक सम्बन्ध स्थापित गरी स्वतन्त्र परराष्ट्र नीति व्यावहारिक रुपमा कार्यान्वयन गरेको बताउनुभयो ।

नेपालस्थित चिनियाँ राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ सियालाङले नेपाल चीन कनेक्टिभिटी र जनस्तर सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो । 

">

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार युवराज घिमिरेले इतिहासमा दासत्व स्वीकार नगरेको मुलुक भनेर गौरव गर्ने तर बाहिरी देशका पाहुना आउँदा के दिएर जान्छ भन्ने अपेक्षाबाट ग्रसित हुने खालको अनौठो मनोविज्ञान नेपालीहरुमा रहेको बताउनुभयो । 

उहाँले आफ्ना समस्या उठाउने र त्यो समस्या अरु कसैले पूरा गरिदिनुपर्छ भन्ने सोच गलत रहेको टिप्पणी गर्नुभयो । 

">

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग प्रमुख डा. खगेन्द्र केसीले भौतिक पूर्वाधार, सडक, सीमाक्षेत्र खोलेर जे गरेर भएपनि मुलुकलाई समृद्धिको बाटोमा लानु अहिलेको कर्तव्य हुने बताउनुभयो । 

">

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले दुवै देशसंग हाम्रो रोटीबेटीको साइनो भएकाले यो कुटुम्बेरी साइनोलाई कसैको चित्त नदुखाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । भारत र चीनसंग तुलना गरेर नजिक र टाढाको सम्बन्धमा अर्थ खोज्नु नै गलत हुने टिप्पणी उहाँको छ । 

">

मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाली पत्रकारहरुको अक्षर इतिहासकै धराप मोडमा रहेको बताउँदै एकाध आपराधिक मानसिकताबाट ग्रसित मानिसका गतिविधिलाई त्यहाँको जनताको चरित्रसंग दाँज्ने भूल गर्न नहुने बताउनुभयो । 

नेपाल भ्रमण वर्षको संघारमा रहेका बेला पत्रकारले चलाउने कलमले पार्ने प्रभावका विषयमा होशियार रहन उहाँको सल्लाह छ । ‘मान्छे सिध्याउन संसारमा मिडिया वार र ट्रायलग हुने गरेका छन् । हतियारको युद्ध समाप्त भएर मिडिया, ड्रोन वारमा अनुवाद भएका छन् । हामी पनि यो चरणमा छौं । त्यसैले राजनीतिक, जनस्तरमा मात्र नभएर मिडियास्तरमा पनि दुई देशबीच घनीभूत सम्बन्ध बनाउने यो अवसर सदुपयोग गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

">

 


 

मिडिया चिनियाँ राष्ट्रपति

विशेष