विदेश

अष्ट्रेलियाको तापक्रम इतिहासकै उच्च, ४०.९ डिग्री मापन

अष्ट्रेलियाको तापक्रम इतिहासकै उच्च, ४०.९ डिग्री मापन

एजेन्सी। अस्ट्रेलियन इतिहासमा मंगलबार सबैभन्दा तातो दिन मापन गरिएको छ । औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेपछि मंगलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका हुन् ।

यसअघि सन् २०१३ को जनवरी ७ मा ४०.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।तर  मंगलबार भने  त्यसलाई पनि उछिनेर तापमान ४०.९ डिग्री पुगेको मौसम विभागले जनाएको छ । सन् २०१९ मा अस्ट्रेलियामा सबैभन्दा कम पानी परेको पनि जनाइएको छ ।

पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको उल्लेख गर्दै मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराबपूर्ण हुनसक्ने पूर्वानुमान गरेको छ । थुप्रै शहरमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिँदा मंगलवार मध्यभागका केही क्षेत्रमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साताको शुरुमै वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थको तापक्रम लगातार तीन दिन ४० डिग्री सेल्सिअस मापन गरिएको थियो । समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक छ दशककै उच्च भएकोले यस्तो भएको जनाइएको छ ।

लामो खडेरीबाट प्रभावित अस्ट्रेलियाको कतिपय स्थानमा वर्षौँदेखि पानी नपर्दा माटोबाट वाष्प वायुमण्डलमा जान नसकेको र तापक्रम बढेको जनाइएको हो । अस्ट्रेलियाली मौसम विभागले मुलुकको तापक्रम सन् १९१० यता एक डिग्री सेल्सिअसले बढेको र त्यसमा धेरै तापक्रम सन् १९५० यता बढेको जनाएको छ ।

सबैभन्दा तातो १० वर्षमध्ये नौ वटा सन् २००५ यता मापन भएको र सन् २०१९ सबैभन्दा तातो चार वर्षमध्ये एक हुने पूर्वानुमान मौसमविदहरुको छ । उच्च तापक्रमका कारण खडेरी, डढेलो र बाढीको संख्या बढ्ने गरेको छ ।

 

अष्ट्रेलिया तापक्रम

विशेष