बेलायती राजदूतले भेटे मन्त्री गुरुङ
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ समक्ष नेपालका लागि बेलायतका राजदुत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेट गर्नु भएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा द्धीपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरिएको हो । भेटका अवसरमा राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध रही आएको उल्लेख गर्दै आफू सो सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल आएको बताउनु भयो ।
उहाँले मन्त्री गुरुङ समक्ष बेलायत सरकार नेपालका महिला र बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक रहेको पनि जानकारी गराउनु भयो । राजदुत पोलिटले आफू पनि व्यक्तिगत रुपमा महिला भएकाले नेपाली महिलाको चुनौतिको विषयमा बुझ्न ईच्छुक रहेको तथा बाल बिवाह र महिला हिंसाको अन्त्य गर्ने विषयमा नेपाल सरकारसँग मिलेर काम गर्ने पनि बताउनु भयो ।
यता, मन्त्री गुरुङले पनि नेपालका लागि बेलायतको पहिलो महिला रादजुत हुनु भएकोमा बधाई दिँदै राजदुत पोलिटको कार्यकालमा नेपालका महिलाको आर्थिक सशक्तिकरणको क्षेत्रमा द्धिपक्षीय सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो । त्यसैगरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको केही समय अघि भएको बेलायतको औपचारिक भ्रमणको स्मरण गराउँदै यसले दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सघाउ पु-याएको पनि बताउनु भयो ।
मन्त्री गुरुङले नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय संकल्प लिएको स्मरण गराउँदै सो अभियानमा लगानी गर्न आवश्यक वातावरण बनेको पनि राजदुत पोलिटसँग बताउनु भयो । मन्त्री गुरुङले हाल मन्त्रालयले बाल विवाह अन्त्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि सबै प्रदेश र स्थानीय तहमा सोही अनुसार अभियान संचालन भईरहेको पनि बताउनु भयो ।
उहाँले राजदुत पोलिट आफै महिला हुनु भएकाले उहाँको कार्यकालमा दुई मुलुकका महिलाबीचको जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।