महरा प्रकरण : उच्च अदालतद्वारा जिल्लाको आदेश सदर!
काठमाडौं– उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको विरुद्ध जिल्ला अदालत काठमाडौँले गरेको आदेश नै सदर गरेको छ।विहीवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो ।
बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने भन्दै जिल्ला अदालतले गरेको आदेश नै सदर गर्दै आदेश जारी गरेको हो ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि अब थुनामै रहने भएका छन् । जिल्ला अदालतको आदेशपछि महरा डिल्लीबजार कारागारमा छन् ।
गत कार्तिक १८ गते जिल्ला अदालत काठमाडौं तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो ।
संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै महरा विरुद्ध उजुरी गरेकी थिइन् । उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।