कागेश्वरी मनोहरा नगरपालिका: मेयरकाे चरम अनियमितताविरुद्ध काँग्रेस आन्दाेलित!

कागेश्वरी मनोहरा नगरपालिका: मेयरकाे चरम अनियमितताविरुद्ध काँग्रेस आन्दाेलित!

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेस र नगरपालिकाबीच द्वन्द्व चर्किँदै गएको छ । नगरपालिकाको कार्य र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेपाली कांग्रेस नगर संघर्ष समितिले हाल तेस्रो चरणको आन्दोलनमा छ । गत कार्तिक २६ गते विभिन्न २७ बुँदे मागपत्र राख्दै ज्ञापनपत्र बुझाएको कांग्रेसले गत मंसिर ११ गते वडामा र २० गते नगरपालिका प्रांङ्गणमा कोणसभा गरेको थियो ।

साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले हातमा कालाेपट्टी बाँधेर विरोध गर्ने तथा नगरप्रमुखको कार्यक्रम बहिष्कार गर्दै आएका थिए । नेपाली कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्कीले नगरपालिकाले जनआवाज सम्बोधन गर्नेगरी काम नगरेकाले विरोधमा उत्रिनुपरेको नेपाल आजलाई बताए । कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिति र नगर प्रमुखको मनोमानी र स्वेच्छाचारिता बढ्दै गएकाले आन्दोलनमा उत्रिनुपरेको उनकाे भनाइ छ । कागेश्वरी मनोहराका मेयरमाथि कांग्रेसले बालुवा ठेक्का, आर्थिक अनियमितता, नगर प्लानिङमा मनोमानी गरिएको लगायतका आरोप लगाएको छ ।  

नगरपालिकाले बोलायो वार्ताका लागि

यसैबीच नगरपालिकाले वार्ताका लागि पत्र लेखेको छ । कांग्रेसलाई वार्ताका लागि डाकिएको नगरप्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए । हेर्नुहोस पत्र :

वार्ताका लागि समिति गठन 

यसैबीच नेपाली कांग्रेस नगर संघर्ष समितिले पनि वार्ताका लागि समिति गठन गरेकाे छ । संयोजक शंकर थापाकाे अध्यक्षतामा वार्ताका लागि समिति गठन गरेको हाे । वार्ताका लागि समिति गठन गरेकाले विहीबार र शुक्रबार राखिएका विरोधका कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।  

खाश विवाद शिक्षक सरुवा

यता नगरप्रमुख कृष्णहरि थापाका अनुसार शिक्षक सरुवाको विषयलाई लिएर कांग्रेसले बखेडा झिकेको हो । ‘५ जना शिक्षक सरुवा गरेका थियौँ । यसमा आपत्ति जनाउँदै कांग्रेस आन्दोलनमा उत्रिएको हो ।’ उनले कानून अनुरुप नै शिक्षक सरुवा गरिएको बताए ।

मेयर शिक्षा समिति संयोजक हुन् । तर कांग्रेसले भने प्लटिङ, बालुवा लगायतका विषयमा अनियमितता भएको आरोप लगाएको छ । 

नगरप्रवक्ता राजाराम पुडासैनी

नगरपालिकाको कार्यशैलीलाई  लिएर कांग्रेसले बखेडा झिकेको हो ?

यो बखेडा होइन । उनीहरुको राजनीतिक धर्म हो नि त । उनीहरुले अहिले कार्यक्रम स्थगित गरे । नगरपालिकाले कानुन सम्मत ढंगले नगरसभाबाट सम्बोधन गरेर अघि बढ्ने भनिसकेका छौँ । नगरसभाबाट आवश्यक निर्णय हुन्छ । 

अब के हुन्छ त ?

उहाँहरुले वार्ता टोली गठन गर्नुभएको छ । हामीले पत्र पठाएर बटम लाइन नै दिएका छौँ । हामीले भनेका पनि छौँ । मौजुदा कानूनमा टेकेर गर्न सकिने काम हामी गर्छौँ भनेका छौँ । हामी पनि जनप्रतिनिधि भएकाले केही बेठिक गरेका पनि हुन सक्छौँ नि । प्रतिपक्षले गरेका सत्य कुरा नाजायज भन्न मिल्दैन नि मिल्छ त ?

खाश इस्यु के हो ?

इस्यु केही होइन । व्यक्तिगत इगो हो । उहाँहरुले उठाएका माग केही होइन । उहाँहरुले उठाएका माग हेर्ने हो भने हामीले सबै सम्बोधन गरिसकेका छौँ । नगरसभाका निर्णय, नगरकार्यपालिकाका निर्णय हेर्ने हो भने हामीले उहाँहरुका सबै कुरा सम्बोधन गरिसकेका छौँ । तर कार्यकर्तालाई चित्त बुझाउन उहाँहरुले यस्तो गरिरहनुभएको छ । प्लटिङ, बाटोघाटोमा सबैको चित्त बुझाउन सकिन्न । कोही कसैलाई के मा चित्त बुझ्दैन नि । 
 

संम्बधित खबर

विशेष