बेसाहारा बनिन् दुर्घटनामा बाँचेकी नाबालिका
सिन्धुपाल्चोक। गत मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा १५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा बाँचेकी सात महिनाकी बालिका बेसहारा बनेकी छन् ।
बालिकाले केही खान नमानेपछि एक साताअघि सुत्केरी हुनुभएकी सुनकोसी गाउँपालिका–७ की सुनिता माझी अस्पताल पुगेर आफ्नो दूध चुसाउने गर्नुहुन्छ । दुर्घटनामा परेकी यी बालिकालाई सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचार सकेपछि पनि कोही अभिभावक हुँ भनेर बालिकालाई लिन नआएपछि अहिले अस्पतालको संरक्षणमा राखिएको छ ।
बा. ४ ख ४४६८ नम्बरको मिनीबस दुर्घटनामा परी बाँच्न सफल यी दूधेबालिका अझै एक्ली छन् । बालिकाको नाम के हो ? कसैलाई थाहा छैन । उनका बाबु कहाँ छन् ? जानकारी छैन । आमाको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालले नै बालिकाको रेखदेख गर्दै आएको छ । बोतलको दूध खान मान्दिनन् र उनलाई अन्य खानेकुरा खुवाउन पनि सकिएको छैन ।
बालिकाको स्वास्थ्य राम्रो रहेको बाल स्याहार कक्षमा राखिएको उक्त अस्पतालका नर्स लक्ष्मी विकले जानकारी दिनुभयो । नानीलाई आमाले दिने मातृत्वअनुरूप नै स्याहारसुसार गरेको नर्स विकले बताउनुभयो । अस्पतालका डा. राजकुमार दङ्गालले भन्नुभयो, “बालिकाको उचित हेरचाह र पालनपोषण भइरहेको छ । ”
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बालिकाको आफन्त हौँ भनेर केही व्यक्ति आए पनि प्रमाण नपुगेकाले दिन नसकिएको जानकारी दिनुभयो । बालिका उक्त दुर्घटना भएको बसका चालक सुमन तामाङकै छोरी भएको न्यौपाने बताउनुहुन्छ । चालक तामाङ अहिलेसम्म फरार छन् । तामाङको घर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भएको प्रहरीले बताएको छ । यो समाचार गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन।
दुर्घटना बिचल्ली नाबालिका