News

लोक सेवा आयोगको परीक्षामा पेशेवर परीक्षार्थी: आठ पटकसम्म पास हुँदा पनि लिएनन् नियुक्ति

लोक सेवा आयोगको परीक्षामा पेशेवर परीक्षार्थी: आठ पटकसम्म पास हुँदा पनि लिएनन् नियुक्ति

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आठ पटकसम्म एकै व्यक्तिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको तर नियुक्ति नलिएको जानकारी दिएका छन्। सचिव गुरागाईंले बिहीबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा यस्ताे जानकारी  दिएका हुन्।

लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुको प्रमुख उद्देश्य नै जागिर गर्नु हो । यसका लागि परीक्षार्थीहरु वर्षौं वर्ष कडा मिहिनेत गरेर सार्वजनिक सेवामा प्रवेश गर्न चाहन्छन् । तर आयोगको परीक्षा उत्तीर्ण गरेर जागिर नै नगरेको ‘केस’ पनि फेला परेको छ । त्यो पनि एक पटक होइन, दुई पटक होइन आठ–आठ पटकसम्मकाे ।

धादिङको जिल्ला प्रशासन कार्यालयमा नासुमा नाम निकालेका एक व्यक्तिले नियुक्ति नलिएर खरिदार पदमा बसेको, फेरि–फेरि गर्दै आठ पटकसम्म लोकसेवाको परीक्षा दिएको र सधैं पास भएको तर, कहिल्यै नियुक्ति नलिएको उनले जानकारी दिए । तर उनले ती व्यक्तिको नाम खुलाउन भने मानेनन् ।

सचिव गुरागाईं भन्छन्, ‘नियुक्ति नलिएको कारण खोज्दै जाँदा मोटो रकम लिएर जागिर वैकल्पिकलाई छोडिदिएको थाहा भयो ।’तर, कानुन अभावमा कारवाही गर्न नसकेको पनि उनले जानकारी दिए । वैकल्पिकले पैसा दिएको नभन्ने र पैसा लेनदेनको कुनै प्रमाण पनि नहुने भएका कारण पुष्टि गर्न नसक्ने भएका कारण लोकसेवाको पेशेवर परीक्षा दिने प्रवृत्ति मौलाउँदै गएको गुरागाईं बताउँछन् ।

‘पेशेवर जाँच दिने, सधैं पास हुने र कहिल्यै पनि नियुक्ति नलिएर वैकल्पिकलाई बेच्ने यो एकदमै ठूलो क्राइम भयो’ सचिव गुरागाईंले बिहीबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा भने, ‘वैकल्पिकमा एक नम्बरमा नाम हुनेलाई पास हुनेले बार्गेनिङ गरेर हैरान बनाएको सूचना प्राप्त गरे पनि प्रमाण नहुँदा कारबाही गर्न सक्ने अवस्था रहेन ।’

विशेष