News

उच्च शिक्षामा मुक्त कमलरी

उच्च शिक्षामा मुक्त कमलरी

देउखुरीः कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरूले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्वकमलरीहरू सामान्य मात्र नभएर उच्च शिक्षा अध्ययन गर्न थालेका हुन् ।विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा पूर्वकमलरीहरूले शिक्षा क्षेत्रमा प्रगति गर्न थालेका छन् ।

लमही नगरपालिका सतवरिया निवासी विष्णु चौधरी पूर्वकमलरी छन् । उनले शिक्षा सङ्कायमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिसकेकी छन् । अहिले कानुन विषय लिएर पनि स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । 

लमही घर भए पनि कुनै समय उनी घोराही बजारको एउटा घरमा भाँडा माझ्ने काम गर्थिन् । “परिवारका अन्य दिदीबहिनी पनि अरूकै घरमा भाँडा माझ्ने र गोठालो जाने काम गर्थे । पढाइदिन्छु भनेर साहूले घरको काम गराउन लगे तर पढ्नेभन्दा काम धेरै गर्नुपथ्र्यो”, पूर्वकमलरी विष्णुले भनिन् । कमलरी जीवन त्यागेपछि २०६१ सालमा दाङकै राप्ती मावि उचानिम्बुमा भर्ना भएर उच्च शिक्षासमेत लिइरहे । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै पश्चिम नेपालका धेरै मुक्त कमलरी उच्च शिक्षामा अध्ययनरत छन् ।

मुक्त कमलरी विकास मञ्चले दिएको जानकारीअनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० जना मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन् । १९१ जना स्नातक तहमा अध्ययनरत छन् । यस्तै ६८६ जना दस जोड दुई र २९६ जना कक्षा १० जना अध्ययनरत छन् । तीमध्ये दाङमा ४८७, बाँकेमा ६७, बर्दियामा ३९५, कैलालीमा ४३३ र कञ्चनपुरमा १५१ जना विद्यालय तहमा अध्ययन गरिरहेका छन् । विकास मञ्चका अनुसार दाङ देउखुरीमा सबैभन्दा बढी पाँच हजार पाँच सय मुक्त कमलरी छन् ।

कुनै समय नारकीय जीवन बिताए पनि मुक्त भएपछि उच्च मनोबलका साथ पढाइलाई निरन्तरता दिएका मुक्त कमलरीलाई सरकारले भने प्रतिबद्धता जनाएअनुरूपको सहयोग नगरेको गुनासो गर्छन् । मुक्त कमैया विकास मञ्चका अध्यक्ष शान्ति चौधरीले विपन्न अवस्थाका मुक्त कमलरीलाई अझै पनि सरकारले सम्झौता गरेअनुसारको शिक्षामा छात्रवृत्ति नदिएको गुनासो गरिन् ।

मुक्त कमलरीले अध्ययनार्थ स्नातक तहमा वार्षिक दस हजार, प्रवीणता तहमा पाँच हजार, मावि तहमा एक हजार आठ सय तथा प्रावि र निमाविसम्मलाई एक हजार पाँच सय रुपियाँ छात्रवृत्ति पाउँदै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

उच्च शिक्षा पूर्वकमलरी

विशेष