आप्रवासन दिवसमा स्वास्थ्य व्यवसायीको रक्तदान
काठमाडाैं - अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा नेपाल स्वास्थ्य व्यवसायी महासंघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रोजगारी, अध्ययन वा अन्य कुनै शिलशिलाका लागि विदेशिएका कामदारको सम्झनामा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने आप्रवासन दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको हो।
वैदेशिक रोजगारीको एक मुख्य सरोकारवाला क्षेत्र रहेको स्वास्थ्य व्यवसायीले हरेक वर्ष १८ डिसेम्बरका दिन रक्तदान लगायातका कार्यक्रम गरि आफ्नो आफ्नो सामाजिक दायित्व सँगै बजारमा रहेको रगत अभावको समस्यालाई केही हदसम्म भए पनि कम गर्दै आइरहेको थियो। तर श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रका सरोकारवाला निकाय सँग सहकार्य तोडेपछि गतवर्ष भने रक्तदान लगायतका कार्यक्रम भएनन्। श्रमग्राम ताहाचलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेको महासंघका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन कुमार केसीले जानकारी दिए।
रक्तदान गर्नेलाई प्रमाण-पत्र प्रदान गर्दै श्रम सचिव विनोद केसीले महासंघले पुण्य कमाउने काम गरेको बताए। 'आम जनताको निम्ति अति आवस्यक रहेक रगत उपलब्ध गराउने कामको लागि जुन अग्रसरता स्वास्थ्य व्यवसायीले लिनु भएको छ यसले मन्त्रालय मात्र खुसी छैन। यसको लाभ पाउने सबैबाट आशिर्वाद पाउने काम गर्नु भएको छ। यो आफैंमा एउटा पुण्यको काम हो' सचिव केसीले भने।
रक्तदान लगायतका सामाजिक काम गरेर स्वास्थ्य व्यवसायीले छविलाई थप उँचो बनाउँदै लैजाने आफुले विश्वास लिएको केसीको भनाइ थियो।
त्यस्तै महासंघका अध्यक्ष कैलाश खड्काले विदेशमा रहेका नेपालीका समस्यालाई उचाल्ने भन्दा पनि सेटल गर्ने तिर सबै सरोकारवाला निकाय एकजुट हुने हो भने आप्रवासी कामदारका समस्या स्वत न्यूनीकरण हुँदै जाने बताए। नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुधारका कार्यलाई अघि बढाउँदै लगेको बताउँदै खड्काले उनको कार्यकालमा वैदेशिक रोजगार क्षेत्र थप सुरक्षित हुने विश्वास यो क्षेत्रका सरोकारवालाले लिएको खड्काको भनाइ छ। 'नेपालमै रोजगारी सिर्जना गर्न सकियो भने त्यो आफैंमा राम्रो हो। यो क्रम त एक दिन रोकिनु पनि पर्छ। तर वैदेशिक रोजगार भन्ने कुरा रोकेर रोक्न सकिने विषय होइन। जबसम्म वैदेशिक रोजगार चलिरहन्छ यसलाई नियन्त्रण होइन थप व्यवस्थित गर्दै कसरी लैजाने भनेर राज्यले सोच्नुपर्छ' खड्काले भने।
लामो समय मलेसिया रोजगारी बन्द हुँदा त्यसले आप्रवासन प्रक्रियामा मात्र नभएर सिंगो मुलुकको अर्थतन्त्रमै असर परेको भन्दै महासंघका अध्यक्ष खड्का १६ महिना मलेसिया रोजगारी बन्द गर्ने तत्कालिन श्रममन्त्रीको निर्णय गलत रहेको टिप्पणी गर्छन। 'श्रम सम्झौतापछि पनि लामो समय मलेसिया बन्द हुँदा त्यसले वैदेशिक रोजगार क्षेत्रमात्र होइन मुलुककै अर्थतन्त्रमा असर गर्यो। केही असहज परिस्थितको निर्माण पनि भयो। तर विगतमा के भयो भन्दा पनि अब सबैको हित हुने गरि सहकार्य गरेर अघि बढ्नुपर्छ' उनले भने। रक्तदान कार्यक्रममा महासंघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव मुकुन्द भट्टराई, सचिव गायत्री जिसी, कोषाध्यक्ष दाताराम काफ्ले, महासंघका कार्यसमिति पदाधिकारी, सल्लाहकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।