सिरियामा साठी भन्दा बढीको मृत्यु
एजेन्सी – सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ । सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
युद्वको अनुगमन गर्ने बेलायतसँग आवद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्स’ले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरुसँग आबद्ध विभिन्न विद्रोही समूहका व्यक्ति रहेका छन् ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तमा बिहीबार राती सो घटना भएको अधिकारीहरुले जनाएका छन् ।त्यसैगरी जियादीहरुको कब्जामा रहेको मारेट अल नुमाननजिकै भएको भिडन्तमा परी २३ जना सिरियाली सरकार समर्थित सेनाको मृत्यु भएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।
केही महिनापछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरुको संलग्नता हुदै गयो । सन् २०११ देखि हालसम्म सिरियामा ३ लाख ७० हजार भन्दा सर्वसाधारणको ज्यान गएको छ ।
लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन.। दशौं लाख व्यक्ति आफ्नो देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्।