भारतबाट आउन छोडेपछि ह्वात्तै बढ्यो चिनियाँ प्याजको आयात
रसुवा। नेपाली बजारमा भारतबाट प्याज आउन छोडेपछि चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ ।
विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ । रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ ।
बिचौलियाका कारण भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि व्यापारीले चिनियाँ प्याज आयात गरेका हुन् । चालू आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा ९ लाख १३ हजार किलो प्याज आयात भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काकाअनुसार चार करोड ४० लाख मूल्यबराबरको प्याज रसुवागढी नाका हुँदै आयात भएको हो ।
पाछिल्लो पाँच महिनामा रसुवा भन्सार कार्यालयले प्याजको मात्रै ४६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्याजबाहेक रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता–चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ ।
चिनियाँ प्याज