‘भान्जाभान्जी’लाई बन्धक बनाइ फिरौती माग्ने मामासहित ३ जना पक्राउ
काठमाडौं– ‘भान्जाभान्जी’लाई होटलमा बन्धक बनाइ फिरौती माग्ने मामासहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बन्धक बनाएर हेरचाह गर्ने गोरखा घर भएका २८ वर्षीय विनोद थापा मगर, होटल सञ्चालक र मामा आशिष सिजापति रहेका छन्।
प्रहरीका अनुसार घटना शनिबारको भएपनि उनीहरु हिजो पक्राउ परेका हुन्। शनिबार रुपा नाम गरेकी महिला काठमाडौंको सामाखुसीस्थित आफ्नो डेरामा ३ जना बालिबालिकालाई आफन्तको भरमा छाडेर काम विशेषले पोखरा गएकी थिइन् ।
तर, सोही दिन रुपालाई कसैले उनका छोरा अपहरणमा परेको भनेर फोन गर्दै ३ लाख रुपैयाँ फिरौती माग गर्छन् । फिरौती माग्ने व्यक्ति पनि उनकै चिनजानका आशिष हुन्छन् ।
कैलालीको धनगढी घर भइ काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा बस्दै आएका आशिष रुपालाई दिदी भनेर बोलाउने गर्थे । तर, शनिबार राति आशिषले नै रुपालाई फोन गरेर भने, ‘तिम्रा छोरा–छोरी मेरो कब्जामा छन् । तुरुन्त ३ लाख रुपैयाँ नदिए जे पनि हुनसक्छ ।’
रुपालाई आशिषले फोनबाट ‘मजाक’ गरेको होला जस्तो लागेको थियो । तर, काठमाडौं फर्किएपछि कोठामा छोरा–छोरी नदेखिएपछि उनले आफन्तसँग सोध–खोज गरिन् ।
आफन्तहरुले आशिषले नै छोरा–छोरीलाई होटलको कोठमा बस्न लैजाने भन्दै लगेको बताए ।त्यसपछि रुपाले आफ्ना छोरा–छोरीको अपहरण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरिन् ।रुपाको सूचनापछि ३ जना बालबालिकाको खोजीमा जुटेको प्रहरीको टोलीले काठमाडौंको टोखा नगरपालिका–९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा उनीहरुलाई फेला पार्यो ।
प्रहरीसँगको बयानका क्रममा पक्राउ परेका विनोदले आफूलाई आशिषले नै बालबालिकाको ‘केयर’ गर्न भनेर होटेलमा राखेर गएको बताएका छन् ।
आफूले भान्जा–भान्जी भन्ने गरेका ३ जना बालबालिकाको अपहरण गरेर फिरौती माग्ने आशिषलाई भने मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट पक्राउ परेका २ र मकवानपुरबाट पक्राउ परेका आशिषसहित तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान शुरु गरेको छ ।