News

कसले गर्‍यो प्रधानमन्त्रीको ट्वीटर ह्‍याक ?

कसले गर्‍यो प्रधानमन्त्रीको ट्वीटर ह्‍याक ?

काठमाडाैँ – भारतीय काँग्रेसकी नेतृ सोनिया गान्धीको ट्वीटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिट्वीट गरेपछि बालुवाटारमा खैलाबैला नै मचिएको छ। प्रधानमन्त्री ओली पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय भएको समेत यस रिट्टीटले देखाएको छ।

प्रधानमन्त्र ओली बिरामी अवस्थाबाट आफू ठीक भएको सन्देशसहित अन्य विभिन्न विषयमा राय राख्न सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् ।यस्तै चर्चा र खैलाबैलाको अवस्था प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट गान्धीको ट्वीट रिट्वीट भएपछि सुरु भएको छ । प्रधानमन्त्रीको ट्‍विटर ह्‍याक गर्ने व्यक्ति को होला भन्ने जानकारी सबैको लागि चासोको विषय बनेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कसैले प्रधानमन्त्रीको पासवर्ड दुरुपयोग गरेको छ। उनका अनुसार ह्याक भएको पासवर्ड ‘रिकभर’ समेत भइसकेको छ।शुक्रबार राति प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको आन्तरिक राजनीतिका विषयमा लेखिएको एउटा ट्विट लाइक र रिट्विट भएपछि ‘ह्याक’ प्रकरणको चर्चा चलेको हो।

भारतको विपक्षी दल कांग्रेस आईकी नेतृ सोनिया गान्धीले देशवासीलाई संयमित हुन आग्रह गर्दै गरेको ट्विट प्रधानमन्त्री ओलीको आधिकारिक ह्यान्डलबाट लाइक र रिट्विट भएको थियो।प्रधानमन्त्रीको आधिकारिक पेजबाट अर्को मुलुकको विपक्षी दलका नेताको ट्वीट रिट्वीट भएपछि यसले सामाजिक सञ्जालमा हलचल ल्यायो।

यो हलचलपछि प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको ट्वीटरको ‘पासवर्डको दुरुपयोग’ भएको दाबी गर्दै प्रधानमन्त्री स्वयंले लाइक र रिट्वीट नगरेकाले भ्रममा नपर्न आग्रह गरे। यो आग्रह आउनुभन्दा अगाडि नै सामाजिक सञ्जालमा प्रधानमन्त्रको ट्वीटरबाट भएको यस कार्यको व्यापक आलोचना भइरहेको थियो।

प्रधानमन्त्री ओलीले आफैले चलाउने गरेको भनिएको ट्वीटरबाट यसप्रकारको काम भएपछि यस्तो कार्य गर्ने व्यक्तिमाथि कारबाही हुनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्।


ह्‍याकर  व्यक्ति बालुवाटारकै वरिपरीका हुन् वा बाहिरका ?

सामाजिक सञ्जालमा सामान्य भन्दा सामान्य गल्ती गरेका व्यक्तिहरु भटाभट पक्राउ परिरहेको देखिन्छ।राष्ट्रपति, प्रधानमन्त्री वा अन्य उच्च पदस्थ व्यक्तिहरुको विषयमा गलत सूचना सम्प्रेषण गर्ने, तस्बिरहरु सम्पादन गरेर विगार्नेहरु कारबाहीमा परिरहेको देखिन्छ। त्यतिमात्र होइन ‘फेक आईडी’ प्रयोग गरिरहेकाहरु समेत समातिएका छन्।

यसको अर्थ सामाजिक सञ्जाल दुरुपयोग गर्ने व्यक्तिलाई सहजै चिन्न सक्ने, पक्राउ गर्न सक्ने र तत्काल कानुनको दायरामा ल्याउन सक्ने संयन्त्र प्रहरीसँग छ।प्रधानमन्त्री जस्तो व्यक्तिकै ट्वीटरको पासवर्ड दुरुपयोग गर्ने व्यक्ति पनि यतै लुकेर बसेको हुन सक्छ। अथवा बालुवाटरकै वरिपरी हुन सक्छ। साँच्चै दुरुपयोग भएको हो भने त्यस्तो व्यक्ति पक्राउ पर्छ त ? कारबाहीमा पर्छ त ?

प्रधानमन्त्रीलाई नै वा मुलुकलाई नै अप्ठेरोमा पार्ने गरी सामाजिक सञ्जालहरु चलाउने, मनोमानी गर्ने, चकचक गर्ने व्यक्तिहरु सत्ताको नजिक भएकाले संरक्षणमा बसिरहन पाउने त होइनन् भन्ने चिन्ता सामाजिक सञ्जालहरुमै व्यक्त भएका छन्।त्यस्ता व्यक्तिहरु पक्राउ नपर्दा, कारबाहीमा नपर्दा यहाँको सुरक्षा संयन्त्र मात्र होइन बालुवाटारले नै संरक्षण दियो कि भन्ने आशंका स्वभाविक हुनेछ।

विशेष