नेकपा स्थायी समिति बैठक किन लम्बियो?
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक लम्बिएको छ। विकास र सहयोगसम्बन्धी अमेरिकी सहायता गर्ने निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद हुँदा समितिको बैठक लम्बिएको हो।
स्थायी समिति बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी रहेपछि शनिबार टुंगो लाग्ने भनिएको बैठक एक दिन लम्बिएको नेकपाकाे सचिवालयले जनाएकाे छ। शनिबारको बैठक एमसीसीबारे नेतृत्वले थप छलफल गरेर आइतबार बिहान ११ बजे बस्ने निर्णय गर्दै टुंगिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेपछि छलफलको क्रम पूरा भएको छ । एमसीसीको विषय चर्को रुपमा उठेपछि बैठक एक दिन लम्बिएको हो। एमसीसीबारे नेतृत्वले छलफल गरेर मात्र निर्णयमा पुग्ने भन्दै बैठक लम्बिएको एक नेताले जानकारी दिए।
सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो। प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ। हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ। संसदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।