माथिल्लो कर्णालीको बिद्युत खरिद गर्ने बंगलादेश सरकारको निर्णय
काठमाडौँ। बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ ।
भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युतमध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो ।
जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत् खरीद सम्झौता गर्ने निर्णय भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेश सरकारले जिएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ ।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्नेछ ।