सोनिया गान्धीको ट्विट, प्रधानमन्त्री ओलीको रिट्विट : लापर्बाही कि जानाजान ?
काठमाडौँ । भारतमा यतिबेला नागरिकता विधेयकलाई लिएर आन्दोलन चर्कँदो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको विरुद्धमा भारतभर प्रदर्शन चर्किएको छ । प्रदर्शनमा विपक्षी भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले त्यहाँको नागरिकता विधेयकबारे जारी गरेको भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको छ ।
सामान्यतः एक देशको सरकार प्रमुखले अर्को देशको विपक्षी नेताको समर्थनमा लागेको पाइन्नँ अझ नेपाल भारतबीच त दुवै देशबीच यस्तो कल्पना हुन्न । सत्ताधारी दललाई नै समर्थन हुन्छ । सत्ताको बागडोर यतिबेला भारतीय जनता पार्टीले सम्हालेको छ त्यसका नेता नरेन्द्र मोदी प्रधानमन्त्री छन् । नागरिकता विधेयक विरुद्धको आन्दोलनको समर्थनमा सोनिया गान्धीले बालेको प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डलबाट रिट्विट हुनुको अर्थ आन्दोलनप्रति समर्थन भन्ने हुन्छ । यद्यपि यो विषयमा नेपालको आधिकारिक धारणा सार्वजनिक नभएपनि प्रधानमन्त्रीले गरेको रिट्वीटलाई धेरैले चर्चा गरेका छन् ।
सर्वत्र चर्चा
प्रधानमन्त्रीको आधिकारीक ह्याण्डलबाट भारतीय सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोध हुने गरी व्यक्त भएको सन्देश रिट्वीट भएपछि नेपालसँगै भारतमा समेत चर्चा भैरहेको छ । भारतका केही अनलाइन मिडियाले प्रधानमन्त्री ओलीको रिट्वीटलाई समाचारसमेत बनाएका छन् । भुटानको मिडिया एशोसिएशनका अध्यक्ष तेन्जिङ लाम्साङले नेपाल प्रधानमन्त्री ओलीले रिट्वट गरेको भन्दै उनको एकाउण्टमा यसबारे उल्लेख गरेका छन् ।
ट्विटरमा सक्रिय प्रधानमन्त्री
त्यसो त प्रधानमन्त्री ओली सामाजिक सञ्जाल सञ्चालनमा निकै सक्रिए छन् । उनले बेला बेलामा ट्विटरमा ट्विट गरिरहन्छन् । बिरामी अवस्थाबाट आफू ठीक भएको सन्देशसहित अन्य विभिन्न विषयमा राय राख्न सामाजिक सञ्जाल प्रयोग गरेका थिए । प्रधानमन्त्री मात्र होइन प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा लगायत पनि सामाजिक सञ्जालमा सक्रिए छन । रिमालको एक ट्वीटले सामाजिक सञ्जालमा ठूलै चर्चा पाएको थियो ।
तनावमा सल्लाहकार
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिएका छन् । उनले फेसबुकमार्फत लेखेका छन् –‘ सम्माननीय प्रधानमन्त्रीज्यकाे twitter @PM_Nepal बाट अन्यथा retweet भएकाे देखिन अाएकाे छ। पासवर्डकाे दुरूपयाेग गरि यस्ताे गरिएकाे हुनसक्ने अाशंकामा छानविन भइरहेकाे छ । तसर्थ : कुनै प्रकारकाे भ्रम र गलतफहमीमा नपर्न अनुराेध गर्दछु।’
सम्बन्धमा असर पर्ला ?
संविधान जारी गर्दाताका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एस जयशंकरलाई विशेष दूत बनाएर संविधान जारी गर्ने समय केही समय सार्न पठाएका थिए । त्यसबेला ओलीले लिएको अडान र भारतीय पक्षको भनाइ नमानेपछि भारतले ६ महिना नाकाबन्दी गरिदियो । उतिबेला भारतको विरोध गरेर राष्ट्रवादको छवि बनाएका ओलीसँग भारतको सम्बन्ध त्यसबेलासम्म सुमधुर भएपनि त्यसपछि पानी बाराबारमा पुग्यो ।
त्यसयता सम्बन्धमा पलाएको तुष अहिलेसम्म मेटिएको छैन । यस्तो अवस्थामा एक देशको सरकारप्रमुखले अर्को देशको विपक्षी नेताले गरेको ट्विट त्यो पनि सो देशको सरकारविरुद्धमा लक्षित गतिविधिविरुद्ध छ भने त्यस्तो ट्विट शेयर गर्नुले दुवै देशको सम्बन्धमा कस्तो असर पर्र्ला ? कि ओलीले त्यसबेलाको तुष अहिले सम्म छ भनेर देखाउन खोजका त होइनन् ? प्रश्न उब्जिएको छ ।