अपहरण शैलीमा बालबालिकालाई बन्धक बनाई फिरौती माग्ने २ जना पक्राउ
काठमाडौँ। टोखाको शान्तिटोलस्थित होटल ब्लु स्टारमा अपहरण शैलीमा बन्धक बनाइ राखेका तीनजना बालबालिकाको प्रहरीले दुई दिनपछि उद्धार गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले बुधबार राति गोरखा घर भएका बिनोद थापा मगर र अर्का एक होटल सञ्चालकलाई पक्राउ गरेको हो ।
मामा नाता लगाउने आशीष सिजापतिले बालबालिकाकी आमासँगको लेनदेनमा तीन लाख असुल गर्न अपहरण तथा बन्धक बनाएको आरोप प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, अभियुक्त सिजापति अर्को अपहरण घटनामा हेटौंडामा पक्राउ परेका छन् ।
बालबालिकाकी आमासँग दिदीको नाता लगाई अभियुक्त सिजापतिले तीन लाख ऋण दिएका थिए । परिसरका प्रवक्ता होविन्द्र वोगटीका अनुसार, दिदीले ऋण नफर्काएपछि सामाखुशी कोठाबाट भान्जा भान्जी बोकेर होटलमा पुर्याई तीन लाख फिरौती माग गरेका हुन् ।
पीडित बालबालिकाकी आमाले भने आफू काम विशेषले पोखरा घुम्न गएको मौकामा छोराछोरी अपहरणमा परेको जानकारी प्रहरीलाई बताउनुभएको छ । प्रहरीले छोराछोरी आफन्तको जिम्मा लगाई पोखरा घुम्न हिँडेकी ती महिलाको गतिविधिको सम्बन्धमा समेत अनुसन्धान गर्ने जनाएको छ ।
पक्राउ