सोनिया गान्धीको ट्वीटलाई प्रधानमन्त्री ओलीले रिट्वीट गरेपछि बालुवाटारमा खैलाबैला!
काठमाडौं – भारतीय काँग्रेसकी नेतृ सोनिया गान्धीको ट्वीटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिट्वीट गरेपछि बालुवाटारमा खैलाबैला नै मचिएको छ। प्रधानमन्त्री ओली पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय भएको समेत यस रिट्टीटले गरेको छ।
बिरामी अवस्थाबाट आफू ठीक भएको सन्देशसहित अन्य विभिन्न विषयमा राय राख्न सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् ।यस्तै चर्चा र खैलाबैलाको अवस्था प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट गान्धीको ट्वीट रिट्वीट भएपछि सुरु भएको छ ।
ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ सोनिया गान्धीको ट्वीट रिट्वीट भएको छ । यो विषय भारतीय विभिन्न मिडियामा समाचारको विषय बनेको छ भने सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
भिडियो सन्देशमा गान्धीले भनेकी छन् :
‘लोकतन्त्रमा सरकारका गलत निर्णय र नीतिका विरुद्ध जनताले आवाज उठाउन पाउँछन् । र उनीहरुले चासो देखाउन पाउँछन् । सँगै नागरिकलाई सुन्ने र सम्बोधन गर्ने सरकारको जिम्मेवारी हो । तर बिजेपी सरकारले जनताका आवाजको उपेक्षा गरेको छ । साथै उनीहरुको असहमतिलाई बल प्रयोग गरेर दबाउन खोज्दैछ । जुन लोकतन्त्रमा अस्वीकार्य छ । कांग्रेस पार्टी बिजेपी सरकारो गतिविधिको निन्दा गर्छ । र आन्दोलनमा सहभागी विद्यार्थीप्रति ऐकवद्धता जनाउँछ । बिजेपी सरकारको जनविरोधी नीति र विभेद्कारी एजेन्डाविरुद्ध देशभरका विभिन्न शैक्षिक संस्थामा स्वतस्फुर्त आन्दोलन उठेका छन् । बिजेपी सरकारको बल प्रयोग अस्वीकार्य छ ।’
गान्धीले नागरिकता कानुन विभेद्कारी भएको भन्दै असहमति जनाएकी थिइन् । भारतको आन्दोलन भारतको नितान्त आन्तरिक मामिला भन्दै विभिन्न मुलुकले जनाइसकेका छन् । यसबारे चीनले समेत आन्तरिक मामिलालाई आफैँ समाधान गर्नू भन्दै प्रतिक्रिया दिएको थियो । यस्तोमा भारतको आन्दोलनलाई समर्थन गर्दै गान्धीको सन्देश आएको केही घण्टामै केपी ओलीको ट्वीटरबाट रहस्यमय तरिकाले रिट्वीट भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलको पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन् ।
सोनिया गान्धीले भारतको विवादास्पद नागरिकता विधेयकका बारेमा पार्टीको धारणासहितको भिडियो तयार पारेर ट्वीट गरेकी थिइन् । यो विषयमा नेपालको आधिकारिक धारणा सार्वजनिक नभएपनि प्रधानमन्त्रीले गरेको रिट्वीटलाई धेरैले चर्चा गरेका छन् ।नागरिकता विधेयकको विषयलाई लिएर भारतमा अहिले आन्दोलन जारी छ । अहिलेसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारत भर विरोध प्रदर्शन तथा आन्दोलन जारी छ ।