मामालाई बुबा बनाएर नागरिकता, भारतीय युवक पक्राउ

सर्लाहीः सर्लाहीको बरहथवामा मामालाई बुवा बनाएर नागरिकता लिने एक भारतीय युवकलाई पक्राउ गरिएको छ । जिल्लाको बरहथवा नगरपालिका–२, घर भएका पर्शुराम भन्ने गिर्जबहादुर भण्डारीलाई बुवा बनाएर नागरिकता लिने भारतको सीतामढीका २० वर्षीय निरज सिंहलाई पक्राउ गरिएको हो ।
सिंहले पुस ३ गते ईलाका प्रशासन कार्यालय बरहथवाबाट निरज भण्डारी नाम उल्लेख गरेर नागरिकता लिएका थिए । भारतीय नागरिकले नेपाली नागरिकता लिएको गाउँमा हल्ला चलेपछि स्थानीय जनप्रतिनिधिले गत शुक्रबार सिंहलाई पक्राउ गरेका थिए ।
अनुसन्धान गर्दै जाँदा प्रायः घर बाहिर बस्ने गिर्जबहादुरले भारतीय पुरुषसँग विवाह गरेकी दिदीको छोरालाई आफ्नो छोरा भन्दै वडा कार्यालयबाट मङ्सिर ३० गते जन्मदर्ता बनाएर नागरिकता दिलाएको पाइएको बरहथवा नगरपालिका–२, का वडाध्यक्ष यज्ञबहादुर खड्काले बताउनुभयो । पाँच जना छिमेकीले समेत निरजलाई नागरिकता दिलाउन सर्जिमिन मुचुल्कामा हस्ताक्षर गरेपछि गिर्जबहादुरकै छोरा ठानेर निरजलाई नागरिकताका लागि सिफारिस प्रदान गरिएको वडाध्यक्ष खड्काको भनाई छ ।
निरजलाई नागरिकतासहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखिएको छ । उनको नागरिकता खारेज गरी थप कारवाही प्रक्रिया अघि बढाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । भारतीय भान्जालाई छोरा भन्दै नागरिकता दिलाउने गिर्जबहादुर फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही भारतीय नागरिक नागरिकता