News राजनीति

प्रधानमन्त्रीका सल्हाकारलाई भीम रावलले दिए कडा जवाफ!

प्रधानमन्त्रीका सल्हाकारलाई भीम रावलले दिए कडा जवाफ!

काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई कटाक्ष गरी फेसबुकमा स्टाटस लेखेको थाहा पाएपछि  स्वकीय सचिव मार्फत समाजिक संजालकाे प्रयाेग गरी जवाफ फर्काएका छन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि आफू पनि पार्टी अध्यक्ष भएझैं आदेश निर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम भएछ क्यारे भन्दै रावलले थापालाई समाजिक संजाल फेसबुक मार्फत जवाफ फर्काएका हुन्।

नेता रावलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘मलाई जिम्मेवारीको उपदेश दिने घृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउनु भएन। बालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि उहाँले पार्टी अध्यक्ष भएझैं गरी आदेश र निर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम परेछ क्या रे। पार्टी विधानले पार्टीका निर्णित विषयहरुबारे प्रवक्ता वा प्रचार विभागका प्रमूख वा उपप्रमूखले मात्र बोल्न पाउने भनी कतै लेखेको छ कि ?’

रावलकै भनाईलाई स्वकीय सचिव दुवालले फेसबुकमा थप लेखेका छन्, ‘अछाममा एउटा प्रसिद्ध उखान छ, ‘ताल खुसेको थापाउदिन पटुका गड्याउदि’ अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने ? सूर्य थापाले मलाई सुदूरपश्चिमको ईञ्चार्ज भएकोले सञ्चार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ। आफू प्रचार विभागको उपप्रमूख भएकोले अबदेखि अरुले सञ्चार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ। पार्टी विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा र केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने किटानी व्यवस्थाको किन पालना भएन भनी पार्टीका कुनै नेताले भन्नुभयो भने सूर्य थापाजी ती नेताको मुखमा पनि पट्टी बाँध्न जमजामाउनु हुने हो कि?

म सुदूरपश्चिम प्रदेशको मात्र ईञ्चार्ज भएको र राष्ट्रिय महत्वका विषयमा बोल्न नपाउने वा बोल्न नहुने हैसियतको व्यक्ति भएको भन्ने सूर्य थापाजी भ्रममा हुनुहुन्छ भने त्यस्तो भ्रमबाट मुक्त हुनु स्वास्थ्यको लागि लाभप्रद होला । कुनै क्षेत्र वा कमिटीको काममा अरुले हस्तक्षेप गर्ने भन्ने कुरा र पार्टीका निर्णित वा वहसका विषयमा भन्न बोल्न पाउने कुराको भिन्नता सहजै बुझिने कुरा हो।

साथै यो व्यवस्था कसैले देश, जनता र पार्टीको बारेमा बोल्न नपाउने, सुगाजस्तो रटेरटाएको कुरा तोकिएको आज्ञाकारीले रामराम भने जस्तो मात्र गर्न पाउने व्यवस्था होइन र नेपाली जनताको बलिदान कुनै निरंकुशताका लागि होइन भन्ने कुरासमेत सबै सचेत नेपालीले जाने बुझेकै विषय हो ।’ फेसबुक तथा ट्वीटरमा सक्रिय रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसअघि पनि पटक पटक पार्टीका अध्यक्ष प्रचण्डका बारेमा पनि खुलेआम आलोचना गर्दै आएका थिए।

विशेष