News

सवारी ज्यान मुद्दामा फरार गाउँपालिका अध्यक्ष १३ बर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा फरार गाउँपालिका अध्यक्ष १३ बर्षपछि पक्राउ

बारा: सवारी ज्यान मुद्दामा १३ वर्षदेखि फरार विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल भेडिहरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। विश्रामपुर–३ स्थित आफ्नै घरबाट उनलाई आइतबार नियन्त्रणमा लिइएको हो।

अदालतले कैदसजायको रेकर्डमा नाम भएका अभियुक्तहरूको सूची तयार पार्ने क्रममा अमिरीलालको समेत नाम भेटिएपछि उनलाई नियन्त्रणमा लिएर बारा जिल्ला अदालतमा बुझाइएको बाराका प्रहरी प्रमुख विकासराज खनालले बताए।

भेडिहरलाई बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र दुई हजार जरिवाना ठहर गरेको रेकर्डमा देखिएपछि उनलाई पक्राउ गर्न विशेष प्रहरी परिचालन गरिएको उपरीक्षक खनालले बताए।

वीरगन्जबाट पथलैया जाने क्रममा भेडिहरले चलाएको ना४प ३७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा छातापिप्राका स्थानीय ६५ वर्षीया हसियादेवी चौधरीको २०६२ माघ २८ गते मृत्यु भएको थियो। चौधरीको मृत्युपछि मृतकका आफन्त लखनलाल चौधरीले भेडिहरविरुद्ध प्रहरीमा सवारी ज्यानमा मुद्दा दर्ता गराएका थिए। यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र यादवले लेखेका छन।   

अमिरीलाल पाल भेडिहर

विशेष